३ हजार ७५ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् । आज (बिहीबार) ११ हजार ९४६ जनाको पीसीआर र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षण गर्दा २ हजार ३२१ र एन्टिजेन परीक्षणबाट ७५४ जनाम कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।

यस्तै आज ३३ जना संक्रमितको ज्यान गएको छ । योसँगै मृतक संख्या १० हजार ४२९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज २ हजार १२६ जना संक्रमित निको भएका छन् । पछिल्लो अपडेटसँगै निको हुनेको संख्या ६ लाख ९१ हजार २२९ पुगेको छ ।

अहिले देशभर ४० हजार ५०० सक्रिय संक्रमित छन् । जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३८६ जना संस्थागत आइसोलेसनमा छन् । ३८५ जना क्वारेन्टिनमा छन् । ७३९ जनाको आइसीयुमा उपचार भइरहेको छ भने १६८ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो केही दिनयता मृतक संख्यामा उल्लेख्य वृद्धि भएको छ । हिजो मात्रै ४२ जनाको मृत्यु भएकाे थियाे । यस्तै हिजाे (बुधबार) ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भयाे । २ हजार १०४ जना संक्रमित निको भएका थिए । पछिल्लो समय कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ । निषेधाज्ञा जारी रहेपनि कडाइ नहुँदा संक्रमित संख्या बढेको हो । कडाइ नगरे अब छिट्टै तेस्रो लहर आउने र तेस्रो लहर निकै भयावह हुने विज्ञहरुले चेतावनी दिइरहेका छन् । मन्त्रालयले पनि काठमाडौं रेड जोनमा परेको भन्दै निषेधाज्ञामा कडाइ गर्नुपर्ने जनाएको छ । साथै कोभिडको उपचार गरिरहेका विभिन्न अस्पतालहरुले कोरोना बिरामीको चाप बढिरहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस