पहिलो गीतबाट नेहाले पाएकी थिइन् ५ हजार, कति कमाउँछिन् अहिले ?

एजेन्सी । बलिउड अभिनेत्री नेहा कक्कड प्रेमी हिमांश कोहलीसँग ब्रेकअप भएपछि डिप्रेशनमा पुगिन् । सफलताकै बीच पनि उनी आफूलाई असफल भएको महसुस गरिरहेकी थिइन्, त्यतिबेला । अहिले उनको बिवाह भइसकेको छ । उनले प्रेमी रोहनप्रित सिंहसँग गत वर्ष बिवाह गरेकी हुन् । उनीहरु एकअर्कालाई निकै प्रेम गर्छन्, जुन सामाजिक सञ्जालमा उनीहरुले गर्ने गतिविधिबाट पनि थाहा हुन्छ ।

नेहा बलिउडकी सफल र सुन्दर गायिका कहलिन्छिन् । तर यो सफलता पछाडि उनका संघर्षका कथाहरु पनि छन् । नेहाको परिवार निकै नै गरिब थियो । नेहा र उनका पिता स्कुलको बाहिर समोसा बेच्ने काम गर्थे । आफ्नो पिताको साथ दिने सोचका साथ नेहाले ४ बर्षको उमेरमा नै धार्मिक कार्यक्रममा गीत गाउन सुरु गरेकी थिइन् । सो समयमा नेहालाई पारिश्रमिक बापत ५ हजार रुपैयाँ मिल्ने गर्थ्यो ।

नेहाले आजसम्म गायनको कुनै तालिम लिएकी छैनन् । तर, उनी आज बलिउडको सर्वाधिक सफल गायिका बनेकी छिन् । नेहाले सन् २००८ मा आफ्नो डेब्यू एल्बम् ‘नेहा दि रकस्टार’ सार्वजनिक गरेकी थिइन् । उनले बलिउडमा ‘मिरबाई नट आउट’ नामक चलचित्रबाट पाइला राखेकी थिइन् । यसपछि, उनले ‘यारिया, क्विन, गब्बर इज ब्याक, सनम रे, कपूर एन्ड सन्स’ जस्ता हिट चलचित्रमा गीत गाएकी छिन् ।

नेहाले विश्वभर हजार भन्दा बढी कन्सर्टमा आफ्नो प्रस्तुती दिइसकेकी छिन् । भारतीय मिडियाका अनुसार, उनले एउटा चलचित्रमा गीत गाएको ८ लाख पारिश्रमिक लिने गर्छिन् । उनी सर्वाधिक पारिश्रमिक लिने गायिकामा पर्छिन् ।

प्रतिक्रिया दिनुहोस