पति–पत्नी झगडा छुट्याउन गएका छिमेकीमाथि चिर्पट प्रहार गरी हत्या

मोरङको मिक्लाजुङ गाउँपालिकामा पारिवारिक झगडामा परेर छिमेकीको ज्यान गएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बू रहेका छन् ।

जिल्ला मोरङ कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरू ३० वर्षीय आइतराज एवम् २६ वर्षीय सञ्जय तामाङसहितले आक्रमण गर्दा लिम्बूको मृत्यु भएको हो ।

गत भदौ ३ गते राति ८ः४० बजे छिमेकमा डेरा गरेर बस्ने मिक्लाजुङ–६ का तामाङ र उनकी पत्नी निरुताबीच झगडा भएको सुनेर लिम्बु घटनास्थलमा पुगेका थिए । त्यसपछि दुवैलाई सम्झाइबुझाइ गर्नेक्रममा पारिवारिक झगडामा परेको भनेर लिम्बूमाथि नै आक्रमण भएको डिएसपी श्रेष्ठले बताए ।

पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आक्रमण गरिएपछि लिम्बू गम्भीर घाइते भएका थिए । घाइते लिम्बूको उपचारका क्रममा शनिबार राति ११ः४५ बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको हो ।

कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको डिएसपी श्रेष्ठले जानकारी दिए । घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिसकेको श्रेष्ठले जनाए ।

प्रतिक्रिया दिनुहोस