पाकिस्तानमा विभिन्न कम्पनीहरुद्धारा व्यापक वित्तीय ठगी भएको विश्व बैंकको रिपोर्ट

इस्लामाबाद । विश्व बैंकले पाकिस्तानमा विभिन्न कम्पनीहरुले व्यापक वित्तीय ठगी गरेको पत्ता लगाएको छ ।पाकिस्तानमा २३ वटा कम्पनीहरुले विभिन्न परियोजना सम्झौता हासिल गर्न ठगी, भ्रष्टचार तथा आर्थिक अनियमितता गरेको विश्व बैंकले पत्ता लगाएको हो । पाकिस्तानमा वितरण कम्पनी (डीआईएससिओएस) र नेसनल ट्रान्समिसन एण्ड डिस्प्याच कम्पनी (एनआईडीसि) बाट परियोजना सम्झौताहरु हासिल गर्न विभिन्न कम्पनीहरुले आर्थिक अनियमितता तथा ठगी गरेको खुलेको हो ।

यी कम्पनीहरुले आपसी लाभका लागि साँठगाँठ गरेको खुलेको विश्व बैंकको एक रिपोर्टले बताएको छ । विश्व बैंकको इन्टरनेसनल बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभेलपमेन्ट (आईबीआरडी) ले पाकिस्तानको बिधुतिय वितरण तथा प्रशारण सुधार परियोजनाका लागि पाकिस्तान सरकारसँग सन् २००८ मा ऋण सम्झौता गरेको थियो । उक्त परियोजनाको लक्ष्य पाकिस्तानमा बिधुत वितरण र प्रवाह क्षमता वृद्धि तथा अन्य विधुतिय परियोजना सुधार गर्नु रहेको थियो ।

तर, पाकिस्तानमा केही कम्पनीहरुले बिधुतिय प्रशारणका लागि सार्वजनिक खरीद बजार नियन्त्रण गरेको पाईएको छ । ती कम्पनीहरुले बजार नियन्त्रण गरी विश्व बैंक अन्तर्गतका परियोजना सम्झौताहरु हासिल गर्न खोजेको खुलेको छ । त्यस्ता कम्पनीहरुलाई ठगी तथा आर्थिक अनियमितता गर्ने कम्पनीको सूचिमा विश्व बैंकले राखेको छ । पाकिस्तानमा कमजोर नियामक निकायको , विकृत न्यायिक प्राणालीहरुका कारण यस्ता वित्तिय अपचलन सामान्य बनेको छ । स्रोत सिफि न्युज

प्रतिक्रिया दिनुहोस