अफगान युद्धको वास्तविक विजेता को ?

काबुल । तालिबानी समूहले अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरिसकेपछि पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक मस्जिदमा झण्डा फहराइयो । झण्डा फहराउनुको वास्तविक अर्थ अफगानिस्तानमा भएको अमेरिकी पराजयको खुसीयाली मनाउनु रहेको न्युयोर्क टाइम्सले जनाएको छ ।

यससँगै करिब २० वर्ष लामो अफगान युद्धको विजयको उद्घोष गर्नु पनि रहेको उल्लेख गरिएको छ । अलकायदा र तालिबानीविरुद्धको युद्धमा अमेरिकाको साझेदार बनेको पाकिस्तानले तालिबानको जितमा खुसीयाली मनाएको हो । पछिल्लो दुई दशकको अवधिमा पाकिस्तानलाई संयुक्त राज्य अमेरिकाले दश बिलियन डलर बराबरको आर्थिक सहायता गरेको छ ।

अमेरिकाले आतंकवाद नियन्त्रणमा सघाउ होस् भन्नका लागि पाकिस्तानी सेनालाई सहयोग गरेको भए पनि उक्त रकम भने तालिबानी लडाकूको भरणपोषणमा खर्च भएको पाइएको छ । अमेरिकाका लागि उक्त रकम बालुवामा पानी खनाएजस्तै बनेको छ ।

अमेरिकाका सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि तालिबानी समूहलाई परास्त गर्नका लागि अफगानिस्तानमा अमेरिकी सेना अवतरण गरेको थियो । तर, सन् २०२० को फेब्रुअरीमा भएका बृहत शान्ति सम्झौत अनुसार अमेरिकी सेना फिर्ता हुन थालेसँगै उक्त सम्झौता उल्लंघ गर्दै तालिबानी समूहले आक्रमण तीव्र बनाएको थियो ।

तालिबानी समूहलाई पाकिस्तानको गुप्तचर संस्था आईएसआईले सहयोग गरिरहेको थियो । तालिबानी समूहलाई लडाकूलगायतको आर्थिक सहयाता पाकिस्तानको आईएसआईले गरिरहेको थियो । यससँगै पाकिस्तानमा तालिबानी सेनालाई आश्रय दिइएको छ ।

सीआईएका पूर्व प्रमुख रोबर्ट ग्रेनियरले पाकिस्तान र आईएसआईले अफगानिस्तानमा आफ्नो जित भएको दाबी गरिरहेको बताएका छन् । तर, उनले तालिबानी समूह अफगानिस्तानमा बलियो हुँदै गएको अवस्थामा पाकिस्तानलाई ठूलो क्षति हुने चेतावनी दिएका छन् ।

पश्चिमा मुलुकमा आफ्नो छवि गुमाएको पाकिस्तानले तालिबानलाई साथ दिएर थप धक्का लागेको छ । यस अर्थमा पाकिस्तानले ठूलो कुरा गुमाएको छ । पाकिस्तानले अवको केही वर्षहरुमा जिहादीको लागुऔषध व्यापारको सामना गर्नुपर्नेछ । यससँगै विदेशी सहायतामा प्रतिबन्ध लागेपछि पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस