काँडाघारीको होटलबाट महिलासहित ४ पक्राउ, ड्यूटीमा खटिएको प्रहरीलाई नै यस्तो गरेछन्

काठमाडौँ । काठमाडौंको काँडाघारीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा चार जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा होटल सञ्चालिका कास्की पोखरा महानगरपालिका– ७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापामगर लगायत चार जना छन्।

होटलमा हो–हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरी बसेका उनीहरुले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ । घटनामा संलग्न भई फरार रहेका कास्कीका २२ वर्षीय रविन थापा मगरको भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–४ बिशालनगर डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका(१० घर भएकी ४७ वर्षीया बदुनी कुवँरको कोठाबाट नगद १ लाख रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी १४ लाख ९५ हजार रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर घर भएकी २३ वर्षीया ईडेन लामा न्यौपाने र ललितपुर हात्तिवन बस्ने महोत्तरी जलेश्वर नगरपालिका–२ घर भएका २२ वर्षीय रितिक चौधरी रहेका छन् ।

कुवँरको कोठामा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनले काम गर्न राखेकी ईडेनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निजले उक्त धनमाल चोरी गरी निजकै साथी रितिकलाई राख्न दिएको भन्ने खुल्न आएपछि ललितपुर सातदोवाटो चोकबाट चोरीका गरगहना सहित रितिकलाई प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस