कुष्ठरोगीको सङ्ख्या बढ्दो : मोरङमा मात्रै ११६ जना कुष्ठरोगी

विराटनगर महानगरपालिका भित्र मात्रै ५१ जना सक्रिय कुष्ठरोगी रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका अधिकृत मुलुकचन्द राजवंशीका अनुसार मोरङमा ११६ जना कुष्ठरोगीमध्ये विराटनगर महानगरपालिका भित्र मात्रै ५१ जना कुष्ठरोगी रहेका छन् ​।

सरकारले सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । तर मोरङमा रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । मङ्गलबार स्वास्थ्य कार्यालय मोरङ र द लेप्रोसी मिसन नेपालले आयोजना गरेको कार्यक्रमा अधिकृत राजवंशीले मोरङसहित तराईका २० जिल्लामा कुष्टरोग अझै रहेको बताए ।

आर्थिक वर्ष २०७६–०७७ को प्रथम चौमासिकमा मोरङमा ११ जना मात्रै कुष्ठरोगी थिए । आर्थिक वर्ष २०७८–०७९ मा रोगीको सङ्ख्या एक सय ३१ पुगेको थियो । ती मध्ये १५ जना निको भएका छन् । राजवंशीका अनुसार मोरङको पथरीमा ४, रंगेलीमा ८, रतुवामाईमा ८, सुनबर्षीमा ६, उर्लाबारीमा ६, सुन्दरहरैंचामा ७, धनपालथानमा ६, जहदामा ४, कानेपोखरीमा ५, कटहरीमा ४ जना कुष्ठरोगी छन् । बुढीगंगा र ग्रामथानमा १– १ जना छन् ।

मिक्लाजुङ, लेटाङ, केराबारीमा कुष्ठरोगी भेटिएका छैनन् । संक्रमण भईसकेपछि पनि समयमै उपचार नगराउने र रोग लुकाउने प्रवृत्तिका कारण कुष्ठरोगीको सङ्ख्या बढेदो क्रममा रहेको राजवंशीले बताए । उनका अनुसार रोगले छाला र स्नायुकामा बढी आक्रमण गर्छ ।

कुष्टरोग हुँदा छालामा दागहरु देखिने, स्नायु प्रणाली प्रभावित हुने, नसा सुन्निने दुख्ने तथा सुक्ने, पक्षघात हुने र शरिरमा खटिरा हुनेलगायतका लक्षणहरु देखा पर्छन् ।यसको न्युनीकरणका लागि रोग लुकाउनुको साटो पत्ता लाग्ने बित्तिकै उपचार गराउने बानीको विकास गर्नुपर्ने स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ अधिकृत मुलुकचन्द राजवंशीको भनाई छ ।

कसरी लाग्छ ?सूक्ष्म जीवाणु शरीरमा प्रवेश गरेपछि छालामा हल्का फुस्रोखालको दाग देखिन्छन् । दाग देखिएको भागमा चिमोट्दा रोगीलाई कुनै अनुभव नहुन सक्छ । यस्तो भागले तातो, चिसो तथा अन्य कुनै कुराको महसुस गर्दैन । गोरो छाला भएका व्यक्तिमा रातो रङको दाग पनि देखिन सक्छ । कुष्ठरोगलाई चिह्न र लक्षणका आधारमा दुई नाम दिइएको छ । बढी कीटाणु भएको कुष्ठरोगलाई एमबी भनिन्छ । सामान्यतया छाला धेरै भाग फुस्रो हुनु, औंलाका टुप्पा खिइँदै जानु, छाला संवेदनहीन हुनु एमबी कुष्ठरोग हो । त्यस्तै, कीटाणु कम हुनुलाई पिबी कुष्ठरोग भनिन्छ ।

लक्षण-बिरामीको आँखा तथा हातखुट्टाको छाला र नसामा असर देखिन्छ । चिसो मन पराउने भएकाले सामान्यतया लेप्रे जीवाणु छालाको बाहिरी भागमा रहने गर्छ । जसले गर्दा हातखुट्टा झमझमाउने, चिसो–तातो छुट्याउन नसक्ने लक्षण देखिन्छ । बिस्तारै हातखुट्टा तथा आँखाको ढकनीको मांसपेशी कमजोर हुँदै जान्छ ।

उपचार-समयमै नियमित उपचार तथा औषधिको सेवन गरेमा कुष्ठरोग निको पार्न सकिन्छ । अपांगता हुनबाट बिरामी बच्न सक्छन् । यसको उपचार विभिन्न विधिबाट गरिन्छ । बढी कीटाणु भएका बिरामीले १२ महिना र कम कीटाणु भएका व्यक्तिले ६ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । बिरामीले घरमै बसेर औषधि सेवन गर्न सक्छन् । बहु–औषधिको १ मात्राले नै ९९ प्रतिशत कीटाणु निष्क्रिय बनाउने भएकाले उपचारमा रहेका व्यक्तिबाट अरूमा रोग सर्दैन । कुष्ठरोगको औषधि नेपालभरिका स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । यदि, कसैमा कुष्ठरोगको लक्षण देखापरेमा चिकित्सक वा स्वास्थ्यसंस्थामा गई सल्लाह लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस