कहिले पाउँछन् बालबालिकाले कोरोना खोप ?

६ असोज, काठमाडौं । नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ५७ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार अहिलेसम्म पूर्ण खोप लगाउने नागरिक ५७ लाख ५२ हजार ८३५ छन् ।

जसमध्ये एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाउने नागरिकको संख्या १४ लाख ४० हजार ७३५ छ । तर बालबालिकाले भने अझै पनि खोप पाउन सकेका छैनन् । कतिपय मुलुकले बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिसकेका छन् ।

नेपालमा पनि सरकारले बालबालिकाका लागि उपयुक्त खोप ल्याउने तयारी भइरहेको बताएको छ । १२–१८ वर्ष उमेर समूहका लागि मोडेर्ना र फाइजर खोप ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बालबालिकाका लागि उपयुक्त भनिएका धेरैजसो खोप अनुसन्धानकै क्रममा रहेको, केही खोप मात्रै आपतकालीन प्रयोगका लागि सिफारिस भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. अधिकारीले भने, ‘हामीले फाइजर, मोडेर्ना लगायतका खोपहरुको कोभ्याक्स सुविधाअन्तर्गत खरिद प्रक्रिया अगाडि बढाएका छौं । हाम्रो योजनामा १२–१८ वर्षसम्मका बालबालिका छन् ।

मंसिरदेखि पुससम्म यो उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।’ डा. अधिकारीले बालबालिकालाई खोप लगाउने कार्ययोजना बनेको र प्रक्रिया पनि अघि बढिसकेको बताए ।फाइजर खोप ल्याएर आगामी मंसिरदेखि पुससम्म बालबालिकालाई लगाउन शुरु गरिने स्वास्थ्य मन्त्रालयको दाबी छ ।

उनकाअनुसार ४० लाख डोज मोडेर्ना र ६० लाख डोज फाइजरको खोप ल्याउने तयारी छ । यस्तै कोभ्याक्स सुविधामार्फत पनि बालबालिकाका लागि उपयुक्त हुने फाइजर खोप खरिद प्रक्रिया अघि बढेको उनले बताए ।‘अहिलेसम्म हेर्दा फाइजरको खोप अमेरिकाबाट आउने गरी प्रक्रिया अगाडि बढाएका छौं,’ डा. अधिकारीले भने ।

 

प्रतिक्रिया दिनुहोस