साइकलमा सुप बेच्ने नेपाली डोलराज १८ वर्षमा १७ रेस्टुरेन्टका मालिक

काठमाडौं । सन् २००३ मा डोलराज गैरे आफ्नाे सोख पूरा गर्ने र कमाइ बढाउन भारतको भोपाल आएका थिए । भोपाल आएर उनले साइकलमा सुप, स्यान्डविच र बिर्यानी बेच्न सुरु गरे । आज तिनै डोलराज भाेपाल सहरको सबैभन्दा प्रसिद्ध फास्ट फुड कर्नर ‘सागर गैरे’को मालिक बनेका छन् । याे सहरमा ‘सागर गैरे’ का १७ वटा आउटलेट छन् ।

images
भनिन्छ, यदि कुनै व्यक्तिले आफ्नो सीपलाई स्वीकारेर निष्कपटतासाथ काम गर्‍याे भने उसलाई सफल हुन केहीले रोक्न सक्दैन । डोलराज गैरेलाई पनि त्यस्तै भयो । सन् २००३ मा उनले सुप बेचेर खाद्य उद्योगमा काम गर्न थालेका थिए ।

त्यतिबेला उनीसँग कुनै पसल वा पुँजी थिएन । द बेटर इन्डियासँग डोलराजले भनेका छन्, ‘खाना पकाउनु मेरो सोख हो, म घरमा सुप, बिर्यानी र स्यान्डविच बनाउने गर्थे र अफिसबाट फर्किएपछि फुर्सदमा साइकलमा ती खानेकुरा बेच्थेँ । आफन्तहरूले पनि मलाई जिस्काए तर भोपालका मानिसलाई मेरो हातको स्वाद मन पर्‍याे । यही प्रेमले आज म यहाँ छु ।’

जागिरबाट सुरु भयो व्यवसाय

डोलराजको मूलघर नेपाल हो । उनी सामान्य किसानका छोरा हुन् । उनका धेरै आफन्त नातेदार भारतमा बस्थे । तिनै आफन्त नातेदारको आशमा उनी सन् १९८० मा कामको खोजीमा भारत आएका थिए । ८ कक्षासम्म अध्ययन गरेका डोलराजले सुरुमा दिल्लीमा काम गरे ।

पछि उनले मध्यप्रदेश पर्यटनमा सरकारी जागिर पनि पाए । सरकारी जागिर खान थालेपछि उनको परिवारले ठाने कि अब डोलराज व्यवस्थित भयो । तर डोलराजको योजना अर्को थियो । घरपरिवार र आफन्तको वास्ता नगरी उनी आफ्नो लयमा लागे । त्यतिबेला उनको जागिर करिब ३ बजे सकिन्थ्यो । यही समयलाई किन सदुपयोग नगर्ने भनेर साइकलमा ट्याङ्की बाँधेर सुप बेच्न थाले । डोलराजको सुप यति चर्चित भयो कि उनी सहरभरि ‘साइँली सुपवाल’ भनेर चिनिन थाले । तर यो नाम जोगाइराख्न उनीहरू कडा परिश्रम गर्थे ।

करिब एक वर्षपछि उनले जागिर छोडे र एउटा सानो कोठा भाडामा लिए । उनलाई पहिलो पसल किन्न पाँच वर्ष लाग्यो । उनले भोपाल बजारको १० नम्बर पसल किने । यही १६० वर्गफुटको पसलबाट तिनीहरूको प्रगति सुरु भयो । यही सानो पसलमा अहिले पनि १६ जना मानिस काम गर्छन् ।

स्वादमा एकरूपता

भोपालको यो फास्ट फुड रेस्टुरेन्टको मेनुमा सबै प्रकारका खाना पाइन्छ । तर यहाँका स्यान्डविच र सुप उपभोक्ताले सबैभन्दा बढी मन पराउँछन् । डोलराज भन्छन्, ‘हामी हरेक परिकारमा आफ्नै मसला प्रयोग गर्छौं । चाहे स्यानडविचका लागि मेयोनेज होस् वा चाउचाउको मसला । त्यसैकारण मानिसहरूले यहाँ पाउनेजस्तो स्वाद अन्त पाउँदैनन् ।’

उनीहरूले सरसफाइ र गुणस्तरमा विशेष ख्याल राखेका छन् । दुई वर्षअघि उनले कम्पनीको रूपमा ‘सागर गैरे’ दर्ता गराएका थिए । त्यसपछि यसका थुप्रै फ्रेन्चाइजहरू पनि खुलेका छन् । भोपालमा १७ वटा आउटलेट छन् जहाँ उनी समयसमयमा रेखदेख गर्न पुग्छन् । सबै आउटलेटमा प्रयोग हुने मसला एकै प्रकारका छन् । चाँडै छतरपुर, सागर र इन्दुरेमा पनि आउटलेट खोल्ने उनको तयारी छ ।

बर्गरलाई टक्कर दिने लक्ष्य

उनका अनुसार भोपालबाहेक अब लखनउ र मुम्बईमा पनि ‘सागर गैरे’ को फ्रेन्चाइज खोल्ने बारेमा छलफल भइरहेको छ । उनका छोरा सागर आफ्नो ब्रान्ड देशैभर फैलाउन बाबुसँगै मिलेर काम गरिरहेका छन् । ‘भारतका सबैजसो सहरमा विदेशी ब्रान्ड बर्गरको आउटलेट छन्, यस्तैगरी हामी किन गर्न सक्दैनौं ? नाफा मात्रै कमाउने हाम्रो सिद्धान्त कहिल्यै नभए । सकेसम्म धेरै मानिसलाई मद्दत गर्न चाहन्छौं ।’ पुराना दिन सम्झँदै डोलराज भन्छन्, ‘म आफ्नै हातले स्याण्डविच बनाएर मान्छेलाई बेचेको सम्झन्छु । त्यसले मलाई साँच्चै आनन्द दिन्छ ।’

डोलराजको मेहनत र आफूप्रतिको विश्वास साँच्चिकै उनको सफलताका कारण हुन् । तथापि, यसरी आफूले तयार पारेको स्वाद हरभरिकाले मन पराउँछन् भनेर उनले कहिल्यै सोचेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस