इण्डोनेसियाली पुरुषको अनौठो हर्कत : राइस कुकरसँग बिहे, ४ दिनमै डिभोर्स

मानिसका इच्छा पनि अनेक हुन्छन् । इण्डोनेसियामा एकजना व्यक्तिले आफैले घरमा भात पकाउने राइस कुकुरसँग बिहे गरेर निकै चर्चा कमाए । तर उनको कुकरसँगको दाम्पत्य जीवन टिक्न सकेन । उनीहरुबीच बिहेको चार दिनमै डिभोर्स भयो । त्यो डिभोर्सले उनको चर्चा थप चुलिएको छ ।

इण्डोनेसियाको जाभा प्रान्तमा बस्ने कहरोल अनम नामका पुरुषले आफ्नै घरको राइस कुकरसँग बिहे गर्दाका तस्वीर सोसल मिडियामा खुबै भाइरल भए । तस्वीरमा एक व्यक्ति बिहेको सेतो पोषाक लगाएका देखिन्छन् र उनको बेहुलीको रुपमा रहेको कुकरलाई पनि सेतो घुम्टो ओढाइएको छ ।

त्यस्तै बिहेपछि बेहुला बेहुलीले खिचेको तस्वीर, कानूनी रुपमा बिहे गरेको कागजातमा हस्ताक्ष्र गर्दै गरेको तस्वीर र आफ्नो बेहुली कुकरलाई चुम्बन गर्दै गरेको तस्वीर पनि सार्वजनिक भए । आफ्नो बिहेका तस्वीर फेसबुकमा शेयर गर्दै उनले लेखेका छन् : सेतो, शान्त, खाना पकाउनमा असल, निकै स्वप्नील ।

उनको फेसबुक पोस्टमा मानिसहरुले अनेक खालका प्रतिक्रियाहरु दिएका छन् । कतिपयले आफूले पनि फ्रायरसँग बिहे गर्ने सोच बनाएको बताएका छन् भने कतिपयले ती व्यक्ति जिनियस रहेको टिप्पणी गरेका छन् ।

राइस कुकरसँग कहरोल अनमको बिहेको चर्चा सेलाउन नपाउँदै उनीहरुको दाम्पत्य जीवनमा खटपट आएछ । बिहेको चार दिनमै कहरोल आफ्नो पत्नी राइस कुकरसँग डिभोर्स गर्ने निर्णयमा पुगे ।

डिभोर्सको कारणबारे पनि उनले फेसबुकमा जानकारी गराएका छन् । राइस कुकर केवल भात पकाउनका लागि मात्र राम्रो रहेको तर अन्य कुनै पनि खानेकुरा बनाउने नजान्ने भएको हुनाले आफूले डिभोर्स गरेको उनको जिकिर छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस