ऋषि धमलाले जन्म दिनमा गरे गरिब जनताको लागि हस्पिटल बनाउने घोषणा,उपचार गर्नलाइ कुनै शुल्क नलाग्ने,श्रीमती एलिजाको साथ

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले आगामी दुई/तीन वर्षभित्र धादिङको राजमार्ग आसपासमा आफ्नो आमा–बुवाको नाममा सुविधासम्पन्न अस्पताल बनाउने घोषणा गरेका छन् । आफ्नो ४६औं जन्मदिन मनाउने क्रममा रिपोर्टर्स क्लब नेपालमा आईतबार आयोजित कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् ।

आफू्नो गृहिजल्लामा दुई÷तीन वर्षभित्रै सुविधासम्पन्न अस्पताल बनाईसक्ने धमलाको घोषणा छ । उनले अस्पताल बनाउनुको कारण भने राजमार्गमा सयौंको संख्यामा विरामी बोकेर आएका एम्बुलेन्सहरु जाममा परेको देखेर धादिङमा अस्पताल बनाउने सोच बनाएको पनि स्पष्ट पारे । उक्त अस्पतालमा भने गरिब, असहाय, दिनदुःखीहरुको भने निःशुल्क उपचार गर्ने पनि धमलाले घोषणा गरे ।

त्यस्तै, उनले क्लबको वार्षिकोत्सवमा दिईँदै आएको पत्रकारिता पुरस्कारमा आगामी वर्षबाट तेजेन्द्र–सुन्तली खड्का स्मृति पत्रकारिता पुरस्कार दिईने पनि आजै घोषणा गरेका छन् । तेजेन्द्र खड्काका दम्पत्तिको कोरोना संक्रमणको कारण निधन भएको थियो । आज जन्मदिन मनाउँदै गर्दा धमला अतित सम्झिएर भावुक बनेका थिए ।
रिपोर्टर्स कलबको स्थापना कालदेखि नै सक्रिय अग्रज पत्रकारहरुको उपस्थितिमा मनाईएको जन्मदिनमा उनले सबैलाई सम्झिएका थिए । सम्बोधनको क्रममा धमलाले आफ्नो सिमन भनेको देश र जनताको लागि पत्रकारिता गर्नु रहेको पनि सुनाए ।

उनले भने,‘क्लबको सफलतामा धेरैको योगदान छ । देश र जनताप्रति समर्पित हुँदै आएको क्लब आगामी दिनमा पनि यही उद्देश्यमा खरो उत्रिनेछ । ऋषि धमलाको पत्रकारिता पनि देश र जनताप्रति नै रहँदै आएको छ । गरिब, असाहय, दिनदुःखीको पक्षमा म निरन्तर खटिनेछु । देशको महारोग भनेको भ्रष्टाचार हो । भ्रष्टाचार अन्त्यकोलागि अभियान चलाउँछु । मैले नेतृत्वका गरेका सबै मिडियाको स्लोगन भनेको भ्रष्टाचारीलाई नग्याउँने हो । देशलाई सम्पन्न बनाउने नै हो । जनतालाई खुशी तुल्याउनुपर्छ ।’

उनले आज लाखौंको संख्यामा नेपाली युवाहरु खाडी मुलुकमा श्रम बेच्न बाध्य भएको भन्दै उनीहरुलाई स्वदेश फर्काउनको लागि पनि आफूले पहल गर्ने बताए । उनले भने,‘खाडीमा बसेकाहरुलाई देशमै फर्काउनुपर्छ । उनीहरुलाई नेपालमै रोजगारी सिर्जना गर्नुपर्छ । सबै मिलेर देश बनाउनुपर्छ । युवा पुस्तालाई देशको विकासमा समर्पित गराउनुपर्छ । विदेशमा हुँदा हाम्रा नेपाली युवाहरुले सिकेका सिप र ज्ञानलाई यहाँ प्रयोग गर्नुपर्छ ।’ रोजगारीको लागि विदेशिएका कतिपय युवाहरुको बाकसमा शब आउने गरेको भन्दै विमानस्थलको दृश्य कारुणिक रहेको पनि उनले स्मरण गराए । यसो भन्दै गर्दा धमला भावविह्वल भएका थिए ।

धमलाले आफ्नो एकमात्रै एजेण्डा भनेको ‘देश, देश, देश र जनता, जनता र जनता’ मात्रै भएको सुनाए । उनले भने,‘मैले पत्रकारितामा लागेको दिनदेखि नै आफूलाई जनताको लागि पत्रकारिता गरिरहेको छु, म आजपनि उद्घोष गर्छु–म यसमा अझै खरो उत्रिन्छु ।’

धमलाले रिपोर्टर्स क्लब नेपालमै आफूले जन्मदिन मनाउनुको पनि खास कारण रहेको सुनाए । उनले आज आफू जहाँ र जुन स्थानमा भएपछि क्लबको कारण नै यो सम्भव भएको सुनाए । उनले क्लब साझा मञ्च रहेको पनि सुनाए।

उनले भने,‘रिपोर्टर्स क्लबको पहिलो वक्ता कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । किसुनजीको सबैभन्दा बढि अन्तर्वाार्ता लिने पत्रकार म हुँ । विमर्शमा म हप्ता बिराएर अन्तर्वार्ता लिन्थें । मेरो पत्रकारिता भनेको नै देश र जनता हो । २०४६ को जनआन्दोलनसँगै मेरो पत्रकारिता सुरु भएको हो । जीवेन्द्र सिम्खडाले पत्रकारितामा ल्याउनुभयो । समालोचना दैनिकमा १४ वर्षको उमेरमा मैले पत्रकारिता सुरु गरेको हुँ । ०४६ सालको आन्दोलनको क्रममा म ७ दिन जेल पनि परें । महेन्द्र पुलिस क्लबमा राखिएको थियो । त्यही दिनदेखि मैले प्रण गरें अब मैले पत्रकारितालाई निरन्तरता दिनुपर्छ ।’

धमलाले आज कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीलाई पनि सम्झिएका छन् । उनले नयाँ दिल्लीमा उपचार गराईरहेका गिरीको स्वास्थ्यलाभको कामनासमेत गरे । उनले भने,‘प्रदिप गिरीले नै मलाई किसुनजीको अन्तर्वार्ता लिन प्रधानमन्त्री निवास बालुवाटारमा लिएर जानुभयो । उहाँ प्रधानमन्त्री हुँदा मैले पहिलो अन्तर्वार्ता लिएको हुँ । आजसम्म अविरल रुपमा क्लब अघि बढिरहेको छ। हामी कानूनी राज्यको पक्षमा छौं । हाम्रो चाहना भनेको भ्रष्टाचाररहित समाज होस ।’ धमलाले २०६२–०६३ सालको जनआन्दोलनमा पनि आफू धेरैपटक जेल परेको सुनाए ।

उनले भने,‘राजाले माघ १९ गते कू गरे, मैले माघ २१ गते सडकमा बहस गरें । त्यतिवेला भीम रावल, नारायण खड्का र सीपी मैनालीलाई बोलाएको थिएँ, उहाँहरु आउन डराउनुभएको थियो, तर मैले उहाँहरुलाई लिएर आएँ । तीनै जनाले बोलेर जानुभयो ।’ धमलाले आफ्नो लागि लोकतन्त्र प्राणभन्दा प्यारो रहेको सुनाए र सिस्टमको पक्षमा जहिल्यै दृढ भएर उभिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस