दाँत भाँचिएको वा किरा लागेको छ ? यी घरेलु उपाय अपनाउनुहोस्

दाँतको साइनो अनुहारको सौन्दर्यसँग मात्र छैन, स्वास्थ्यसँग पनि छ । चिकित्सकहरु भन्छन् नि, ‘राम्ररी चपाएर मात्र खानेकुरा निल्नुपर्छ, नभए अपच हुन्छ ।’ चपाउनका लागि दाँतको भूमिका हुन्छ । तर, दाँत नै सडिएको, भाँचिएको वा किरा परेको छ भने?

खानेकुरा टुक्राउन र पचाउनमा केही समस्या पक्कै हुन्छ । त्यसैले दाँतको स्वास्थ्यलाई निकै ध्यान दिनुपर्छ।

दाँत सडिएको र त्यसमा खाल्डो परेको अवस्थालाई क्याभिटी भनिन्छ । के हो क्याभिटी, किन हुन्छ भनेर जानेको खण्डमा घरेलु विधि अपनाएर पनि यो समस्याबाट मुक्त हुन सकिन्छ ।

किन हुन्छ क्याभिटी ?

दाँतमा प्वाल पर्नुलाई नै चिकित्सकीय भाषामा क्याभिटी भनिन्छ । मुखमा उत्पन्न हुने एसिडका कारण दाँतको इनामेल खिइन्छ र दाँतमा क्याविटी हुने गर्छ । क्याभिटीको समस्या मुखमा रहेको ब्याक्टेरियाको कारण हुन्छ ।

मुखमा रहेका व्याक्टेरिया दाँतको जडामा जम्मा भई काई लागेमा त्यसमा रहेको व्याक्टेरियाले चिनी तथा कार्वोहाइड्रेटलाई अम्लीयपनामा परिवर्तित गरिदिन्छ । यसले गर्दा दाँतमा खाल्डो परी क्याभिटी हुने गर्छ ।

क्याभिटी भएमा दाँत दुख्ने तथा दाँतमा क्षति पुग्ने गर्छ । यद्यपी, केही घरेलु उपाय अपनाएर प्राकृतिक तरीकाले नै क्याभिटीको समस्यालाई कम गर्न सकिन्छ।

ल्वाङ

क्याभिटी लगायत दाँत सम्बन्धि कुनै पनि समस्यामा ल्वाङको प्रयोग प्रभावकारी मानिन्छ । ल्वाङमा एन्टी इन्फ्लेमेन्टरी, एनाल्जेसिक तथा एन्टी व्याक्टेरियल तत्व भएका कारण यसले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन।

क्याभिटीका कारण दाँतमा समस्या उत्पन्न भएमा एक चौथाई तिलको तेलमा २/३ थोपा ल्वाङ्गको तेल मिसाएर राती सुत्नु अगाडी त्यसको लेपलाई क्याभिटी भएको दाँतमा लगाउनु पर्छ । यसले दाँतको समस्या कम गरी दाँतलाई आराम दिलाउँछ ।

नुन

एन्टीसेप्टिक र एन्टीबायोटिक गुणका कारण नुनको प्रयोग क्याभिटीको उपचारमा हुने गर्छ । नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्या कम गर्नुका साथै कुनै पनि किसिमका संक्रमण तथा मुखमा व्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ ।

नुन द्धारा क्याभिटीको समस्या कम गर्न एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्छ । समस्या कम नभएसम्म यस प्रक्रियालाई दिनमा तीन पटक दोहर्‍याउनु पर्छ ।

यसबाहेक, आधा चम्चा नुनलाई थोरै सरस्यूको को तेल र कागतीको रसमा मिसाएर यसको लेपले गिजामा मसाज गर्नुपर्छ । दाँतको व्याक्टेरिया नष्ट गर्न यस उपायलाई केही दिनसम्म दिनमा दुई पटक दोहर्‍याउनुपर्छ ।

लसुन

एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण लसुनको प्रयोग क्याभिटीमा प्रभावकारी मानिन्छ। लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्नुका साथै दाँतको दुखाईबाट समेत राहत दिलाउँछ । र, दाँतलाई स्वस्थ राख्न मद्दत गर्छ ।

त्यसको लागि ३ देखि ४ कल्ली लसुनको पोटीलाई पिनेर एक चौथाई सिधा नुनमा मिसाएर लेप बनाउनु पर्छ । र, उक्त लेपलाई संक्रमित दाँतमा लगाएर करिब १० मिनेट राख्नु पर्छ । यो विधिलाई केही दिनसम्मका लागि दिनमा दुई पटक अपनाएको खण्डमा क्याभिटीको समस्या निकै कम हुन्छ ।

जेठी मधु (मुलेठी)

अमेरिकन केमिकल सोसाइटीको जर्नल अफ नेचुरल प्रोडक्टमा प्रकाशित एक लेख अनुसार जेठी मधुमा रहेको एन्टी व्याक्टेरियल तत्वले दाँतमा क्याभिटीको विकास हुन दिदैन । साथै, दाँतमा काई लाग्न नदिएर दाँतलाई स्वस्थ राख्दछ ।

जेठी मधुको जरालाई धुलो बनाएर मञ्जनको रुपमा दाँतमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, मुलेठीको डाढलाई टुथब्रशको रुपमा पनि दाँतमा प्रयोग गर्न सकिन्छ ।

बेसार

आयुर्वेदिक चिकित्सा पद्धतिले बेसारलाई क्याभिटीबाट हुने दाँतको दुखाई कम गर्नका लागि उपयोग गर्दछ । बेसारमा रहेको एन्टी व्याक्टेरियल तथा एन्टी इन्फ्लामेन्टरी गुणले गिजालाई स्वस्थ राख्नुका साथै व्याक्टेरियाको संक्रमणका कारण दाँत झर्ने समस्याबाट रोक्दछ ।

बेसारको धुलोलाई विशेषगरी, प्रभावित दाँतमा लगाएर केही बेर राख्नु पर्छ । र, मनतातो पानीले कुल्ला गर्नुपर्छ । यसले दाँतमा क्याभिटी हुन दिदैन ।

नीम

निमको पात पनि क्याभिटीको उपचारमा प्रभावकारी तथा लोकप्रिय मानिन्छ । यसमा रहेको एन्टी व्याक्टेरियल गुण व्याक्टेरियाले दाँतमा क्याभिटी हुन दिदैन । र, भएको छ भने पनि उक्त समस्यालाई हटाउन मद्दत गर्दछ ।

यसबाहेक, यसले गिजा स्वस्थ तथा मजबुत राख्न पनि सहायता प्रदान गर्छ । दाँत तथा गिजामा नीमको रसले मज्जाले दल्नु पर्छ र केही समय राखेर मनतातो पानीले कुल्ला गर्नुपर्छ । यो विधि दिनमा एक वा दुई पटक अपनाउनु पर्छ । त्यबाहेक नीमको डाढको प्रयोग दाँत माझ्नका लागि पनि गर्न सकिन्छ ।

अमला

अमला जस्ता जडिबुटी पनि क्याभिटीको उपचारमा महत्वपूर्ण मानिन्छ । अमलामा रहेको एन्टीअक्सिडेन्ट तत्व तथा भिटामिन सीका कारण यसले व्याक्टेरिया तथा रोगको संक्रमणसित लड्न मद्दत गर्छ ।

साथै, सासको दुर्गन्ध हटाउन तथा मुख सफा गर्न पनि अमलाको सेवन प्रभावकारी मानिन्छ । अमलाई सिंगै वा आधा गिलास पानीमा आधा चम्चा अमलाको रस मिसाएर पनि यसको सेवन नियमित गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस