जाडोमा हुनसक्छ भिटामिन डीको अभावः शरीरले देखाउने दुई लक्षणमा ध्यान दिन जरुरी

भिटामिन डी वा ‘सनसाइन भिटामिन’ शरीरको स्वस्थ कार्यका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।

भिटामिन डीको सबैभन्दा ठूलो स्रोत सूर्यको प्रकाश हो । भिटामिन डी प्राकृतिक रूपमा सूर्यको किरणको प्रतिक्रियामा छालामा उत्पादन हुन्छ । शरीरमा भिटामिन डीको स्तर बढाउने सबैभन्दा राम्रो र प्राकृतिक तरिका सूर्यको किरणको सम्पर्कमा आउनु हो । यसबाहेक केही खानेकुरा, सप्लिमेन्टबाट भिटामिन डी प्राप्त गर्न सकिन्छ ।

भिटामिन डीले हड्डीलाई स्वस्थ राख्न, एन्जाइटी कम गर्न र प्रतिरक्षा बढाउनमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । भिटामिन डीको पर्याप्त मात्राले शरीरमा क्याल्सियम र फस्फोरसको अवशोषणलाई नियमित गर्न मद्दत गर्छ । यसले विभिन्न सङ्क्रमण र रोगहरूसँग लड्न, हड्डी र दाँतको सामान्य वृद्धि र विकासलाई सहज बनाउँछ ।

भिटामिन डीले तनाव र चिन्ता कम गर्न र मुडलाई नियन्त्रण गर्न पनि मद्दत गर्छ । भिटामिन डीको कमी भएमा विभिन्न समस्या उत्पन्न हुन सक्छ । सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भए पनि विश्वभरका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । विशेषगरी जाडोको समयमा पर्याप्त घाम पाउन गाह्रो हुन सक्छ ।

भिटामिनको कमी हुँदा देखिने लक्षण निकै कम देखिने वा नदेखिने हुन्छ । जसकारण लक्षण मिस हुने हुन्छ । भिटामिन डीको कमी भएका मानिसमा दुईवटा असामान्य लक्षणहरू देखिन्छन् जसलाफ ध्यान दिनु आवश्यक हुन्छ । भिटामिन डीको कमी भएका मानिसले प्रायः सामान्य थकान र कमजोरी महसुस गरेको गुनासो गर्छन्, जसले उनीहरूलाई आफ्नो दैनिक कार्यहरू गर्नबाट रोक्छ ।

टाइम्स अफ इन्डियाका अनुसार मांसपेशीमा हुने कमजोरीले सिँढी चढ्न, भुइँ वा कुर्सीबाट उठ्न गाह्रो हुने, छोटो दुरी हिँड्न पनि गाह्रो हुन सक्छ। हड्डी कमजोर हुनु पनि भिटामिन डीको कमीको सङ्केत हुन सक्छ । भिटामिन डीको कमी हुँदा विशषगरी बच्चाहरूमा हड्डी कमजोर र नरम हुने हुन्छ । वयस्कहरूमा, कमजोर र नरम हड्डीको समस्या ओस्टियोमालेसिया भनिने रोगसँग सम्बन्धित हुन सक्छ।

प्रतिक्रिया दिनुहोस