हरियो आँखावाली अफगान ‘रिफ्युजी गर्ल’ ३७ वर्षपछि अचानक फेरि किन चर्चामा आइन् ?

काठमाडौं, सन् १९८४ मा नेशनल जियोग्राफिक म्यागजिनको कभरमा फोटो छापिएपछि एउटी हरियो आँखा भएकी अफगानी शरणार्थी किशोरी विश्वभर चर्चामा आएकी थिइन् । त्यतिबेला उनको उमेर १२ वर्ष थियो । शरबत गुला नामकी यी तत्कालीन किशोरी अहिले ४९ वर्षकी महिला भइसकिन् । र, ३७ वर्षपछि फेरि यी महिला अचानक चर्चामा आएकी छिन् ।

यी महिलालाई इटलीले अफगानिस्तानबाट नागरिकहरुलाई बाहिर निकाल्ने अभियान अन्तर्गत अफगानिस्तानबाट निकालेर आफ्नो देशमा लगेर शरण दिएको छ । इटलीका प्रधानमन्त्री मारियो द्राघीको कार्यालयका अनुसार शरबत गुलाले सहयोगका लागि आग्रह गरेपछि इटलीले उनलाई अफगानिस्तानबाट निकालेर इटली ल्याएको हो । इटलीको सरकारले अब उनलाई इटलीमै राम्रो जीवन बिताउनको लागि सहयोग गर्नेछ ।

न्यूयोर्क टाइम्सका अनुसार शरबत १९८४ मा अफगान रिफ्युजी गर्ल नामबाट विश्वभर प्रसिद्ध भएकी थियन् । फोटोग्राफर स्टिभ म्याकरीले उनको तस्वीर खिचेका थिए । यो तस्वीर नेशनल जियोग्राफिक म्यागजिनको १९८५ जूनको संस्करणमा छापिएको थियो । त्यसपछि फोटोग्राफर म्याकरीले शरबतलाई सन् २००२ मा दोस्रो पटक भेटेका थिए ।

त्यसपछि २०१४ मा उनी पाकिस्तानमा भएको खबर आयो । त्यहाँ उनी पाकिस्तानको नक्कली परिचय पत्र राखेको आरोपमा पुलिससँग लुकेर बसेकी थिइन् । पक्राउ परेपछि पाकिस्तानले उनलाई अफगानिस्तान डिपोर्ट गरिदियो । त्यतिबेला काबुल विमानस्थलमा अफगान राष्ट्रपतिले उनलाई लिनको लागि रिसेप्सन कार्यक्रम नै आयोजना गरेका थिए । यस क्रममा उनलाई एउटा नयाँ घरको चाबी पनि दिइएको थियो ।

अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि इटलीले सयौं अफगानीलाई त्यहाँबाट निकालेर अन्यत्र स्थापित गराएको छ । अहिले शरबत रोम पुगेपछि त्यहाँको प्रधानमन्त्री कार्यालयले उनको प्रसिद्ध तस्वीर इतिहासको त्यो अध्यायको उलटफेर र संघर्षको प्रतीक

भएको बताएको छ जुन संघर्षसँग अफगानिस्तान र त्यहाँका जनता गुज्रिरहेका थिए । इटलीका अनुसार शरबतलाई त्यहाँबाट निकाल्न त्यहाँका केही गैर सरकारी संस्थाले पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस