यी हुन् पौने करोडको कार चढ्ने नेपाली हिरो, कुन कलाकारले कुन गाडी चढ्छन् ?

काठमाडौं । अभिनेता पुष्प खडकाले चार दिन अघि आफ्नो जन्म दिनको छेको परेर ७० लाख रुपैया तिरेर नयाँ कार किने । महँगो कार चढ्ने नायकको रुपमा उनको चर्चा सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा समेत भयो ।

महँगो कार चढ्ने पुष्प पहिलो कलाकार होइनन् । उनी भन्दा महँगो कार चढ्ने थुप्रै अभिनेताहरु पनि यहाँ छन् ।पछिल्लो पुस्ताका चर्चित अभिनेता अनमोल केसी महँगो कार चढ्ने अभिनेताको अग्रपँक्तिमा छन् । एक पछि अर्को हिट सिनेमा दिँदै आएका अनमोलले जीप कम्पनीको कम्पास जीप चढ्दै आएका छन्।

निकै बलियो मानिएको यो जीपको मूल्य ९५ लाख रुपैयाँसम्म रहेको छ । यस अघि तीन वटा कार फेरी सकेका अनमोलको भनाईमा यो जीप निकै आरामदायी छ ।महँगो कार चढ्नो अर्का अभिनेतामा धिरेन शाक्य पर्दछन् । नेपाली चलचित्रमा नायक बन्नु अघिबाटै धिरेनले कार चढ्न सुरु गरेका थिए, ‘मैले चलचित्रमा आउनु अघि २०४८ सालमा क्याम्पस पढ्दै गर्दा मारुती सुजुकीको ८०० कार किनेर चढेको थिएँ ।

अहिले चढ्दै गरेको किया स्पोटिज मेरो ११ औं कार हो ।’ धिरेनले भने । कारको निकै सौखिन धिरेन हरेक दुई देखि तीन वर्षमा कार फेर्ने गरेको बताउँछन् । उनको यो कारको मूल्य नेपाली बजारमा ७५ लाख रुपैयाँ रहेको छ ।अभिनेता राजेश हमाल पनि कलेज जीवनबाटै कार चढ्ने अभिनेताको रुपमा परिचित छन् ।

यतीबेला यी अभिनेताले पनि कियाकै स्पोटिज कार चढ्ने गरेका छन् ।कियाको स्पोटिज कार चढ्ने अर्का अभिनेता आयुष्मान देशराज जोशी पनि हुन् । उनले यो कार आफ्नै कमाईले किनेको बताउछन् । त्यसो त आयुष्मानसँग मर्सिडिज कार पनि छ । तर यो उनको परिवारको कार हो।

महँगो कार चढ्ने अभिनेताको सूचीमा प्रदीप खड्का पनि पर्छन । प्रदीपले गत वर्षबाट हुन्डाई कम्पनीको क्रेटा कार चढ्दै आएका छन् । उनले चलचित्र प्रेमगीत २ मा काम गरे बापत यो कार उपहारको रुपमा पाएका हुन् । निर्माता सन्तोष सेनले गत वर्ष चलचित्र प्रेमगीत २ को पारिश्रमिक स्वरुप प्रदीपलाई यो कार उपहार दिएका थिए ।

यो कारको मूल्य नेपाली बजारमा ५० लाख रुपैयाँ रहेको छ ।यस्तै अर्का अभिनेता भुवन केसीले पनि पछिल्लो समय हुन्डाई कम्पनीको क्रेटा कार नै चढ्दै आएका छन् । छोरा अनमोलले ८० लाख भन्दा महँगो पर्ने जीप कम्पनीको कम्पास चढ्दै गर्दा भुवन भने ५० लाख रुपैयाँको क्रेटामै खुसी छन् ।

आफुले पनि फिल्मी यात्रा सुरु गरेबाटै कार चढ्दै आएको यी अभिनेताको कथन छन् । कारका सौखिन भुवनले अहिलेसम्म कतिवटा कार फेरिसकेँ भनेर गणना समेत नगरेको बताएका छन् ।यस्तै अर्का अभिनेता पल शाह पनि महँगो कार चढ्नो अभिनेताहरुमा पर्छन ।

पछिल्लो समय पलले निशानको सन्नी कार चढ्ने गरेका छन् । उनी अहिले म्युजिक भिडियोको व्यस्त कलाकारका रुपमा परिचित छन् । पलले चढेको यो कारको मूल्य नेपाली बजारमा ५० लाख रुपैयाँ रहेको छ ।यस्तै पछिल्लो पुस्ताका अभिनेता प्रदीप बास्तोलाले मारुती सुजुकी कम्पनीको डिजायर चढ्ने गरेका छन् ।

दुई वर्ष अघि किनेको यो कारको मूल्य ३५ लाख रुपैयाँ रहेको छ । प्रदीप बास्तोलको यो चौथो कार हो । उनी पनि कारका सौखिन अभिनेतामा पर्छन ।यस्तै अभिनेता आकाश श्रेष्ठले पनि हुन्डाईकै कार चढ्ने गरेका छन् । आकाशले यतीबेला ३५ लाख रुपैयाँको कार चढ्दै आएका छन् ।

उनी पनि पछिल्लो समय चलचित्र भन्दा म्युजिक भिडियोमै व्यस्त रहने गरेका छन् ।यता अभिनेता शिब श्रेष्ठले पनि आफु नायक भएदेखि नै कार चढ्दै आएको बताएका छन् । अहिले आफुसँग किया कम्पनीको पिकान्तो कार रहेको अभिनेता शिबले बताए । यो कारको नेपाली बजारमा ३४ लाख रुपैयाँ मूल्य पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस