चोरीको डरले असुरक्षित स्थानमा बहुमूल्य वस्तु लुकाउँदा भुलवश भयो यस्तो घटना

काठमाडौं । बहुमूल्य गहना र नगदको सुरक्षाका लागि अनेक उपाय अपनाइन्छ । चोरी हुने वा लुटिने डरले सुरक्षाका उपाय अपनाउँदा होस् पु-याइएन भने कहिलेकाहीँ उल्टै दुःख पनि पाइने रहेछ भन्ने कुरा हेटौँडाको एउटा घटनाले पुष्टि गरेको छ ।

हेटौँडा नगरपालिका–५ निवासी ३९ वर्षीया सरस्वती कार्कीले सुन र गहनाको सुरक्षाका लागि अपनाएको गलत उपायले गुमिसकेको लाखौँको धनमाल प्रहरीको सक्रियताले भाग्यवश फेला परेको छ । शनिबार बिहान कार्की घरबाहिर निस्कनुपर्ने थियो । चोरी हुने डरले उनले आफूसंँग रहेको नगद र गहना फोहोर फाल्ने भाँडोमा लुकाएर बाहिर निस्कीईन।

आइबार फेरि बाहिर निस्कनुभएकी कार्की बजारको काम सकेर घरमा फर्किंदा नगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडी नजिक आइपुगको थियो र उहाँले हतार–हतार फोहोर गाडीमा मिल्काउनुभयो । फोहोरको गाडी गइसकेपछि गहना र नगद कहाँ राखे भन्ने कुरा भुलेर घरमै खोज्न थालेको उनले फेला पार्न नसकेपछि चोरी भएको आशङ्कामा प्रहरी गुहार्नुभएको थियो ।

चोरीको आङ्शका गर्दै प्रहरीले राखेको ठाउँलगायतका विषयमा सोधपुछ गर्ने क्रममा उहाँले सुन र गहना चोरीको डरले फोहोरको डस्टबिनमा लुकाएर राखेको र फोहोरसंँगै फ्याँकेको बल्ल सम्झिनुभयो । कार्कीले फोहोरसँंगै फ्याँकेको आठ तोला सुन र १७ हजार नगद प्रहरीले फेला पारेर कार्कीलाई फिर्ता गरेको छ ।

वडा प्रहरी कार्यालय सानो पोखरी हेटौँडाका निरीक्षक कृष्णप्रसाद विष्टका अनुसार कार्कीले सुरक्षाका लागि गलत तरिकाले फोहोरसंँगै लुकाएको सुन र नगद फोहोरको थुप्रो पन्छाएर दुई घण्टापछि राप्ती किनारमा फेला पारेको हो ।

ना ४ त २६९८ नम्बरको फोहोर सङ्कलन गर्ने गाडी चालक दीपक लामाले नगदसँंगै बहुमूल्य गहना फ्याँकेकोबारे आफूले पछि थाहा पाएको बताए । कार्कीले अघिल्लो वर्षको तिहारमा घरमा चोरी भएको र नगद तथा गरगहना हराएपछि यस्तो जुक्ति गरेको छिन् ।

छिनमा बिर्सने बानीका कारण यस्तो घटना भएको स्वीकार्नुभयो । “चोरीको डरले असुरक्षित स्थानमा बहुमूल्य वस्तु लुकाउँदा भुलवश यस्तो घटना भयो, प्रहरीको सहयोगले सामान र नगद फेला परेपछि हामी सारै खुसी भएका छौँ”, कार्कीले खुसी साट्दै बताउनुभयो ।

फोहोरसंँगै फ्याँकेको छड्के तिलहरी, बाला, ब्रासलेट, चन्द्रमा, औठी, झुम्का, मुन्द्रासहित १७ हजार नगद र एटिएम कार्डको आशा मारेको भए पनि फेला पार्दा हर्ष विभोर भएको उहाँले अनुभव सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस