नेपालको राष्ट्रिय हितमा हानी पुर्याएपछि चिनियाँ लगानीको चर्को विरोध

काठमाडौं । नेपालमा चिनियाँ लगानीमा सञ्चालन भइरहेको परियोजनाहरुले चर्को विरोधको सामना गर्नुपरेको छ। यद्पि चीनले नेपालमा भौतिक संरचनाको विकासमा लगानी बढाउने बताइरहेको समयमा नेपालीहरुले भने चिनियाँ लगानीले राष्ट्रिय हितमा असर गर्ने भन्दै यसको विरोध गरेका हुन्।

नेपालको दार्चुला जिललामा चिनियाँ कम्पनीहरुले निमार्ण गरेको चमेलिया जलविद्युत परियोजना तोकिएको समयभन्दा निक ढिला गरी सम्पन्न भयो। जसका कारण नेपालले ठूलो मूल्य चुकाउनुपर्यो। ३० मेगावाटको चमेलिया जलविद्युत परियोजना नै चिनियाँ कम्पनीहरुले नेपालको राष्ट्रिय हितविरुद्ध कसरी काम गरिरहेका छन् भन्ने पछिल्लो उदाहरण हो।

नेपालले चीनको ‘बेल्ट एन्ड रोड’ अवधारणामा २०७४ सालमा मा हस्ताक्षर गरेवापत चीनले नेपालमा धेरै आयोजनाहरू सुरु गरेको छ। कैयौँ परियोजना निर्माणाधीन छन् । यसका साथै हालका दिनमा विभिन्न ठाउँमा चीनियाँ कम्पनीप्रति स्थानीय वासिन्दा आक्रोश पनि बढ्न थालेको छ। यसको एक उदाहरणका रूपमा झापा जिल्लामा बन्न लागेको औद्योगिक पार्कलाई लिन सकिन्छ ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको भूभाग समेटेर चीन सरकारको लगानीमा निर्माण गर्न लागिएको ‘नेपाल–चीन औद्योगिक पार्क’ को जग्गाको मुआब्जा वितरण र यसको पारदर्शिताको विषयले उग्ररूप लिन थालेको छ ।

हेर्दा आकर्षक र ठूलो देखिए तापनि यो योजना निर्माण गर्दा हुने क्षति पनि त्यतिकै गम्भीर छ। यसको निर्माणले वनजङ्गल र पर्यावरणको विनाश त हुन्छ नै, यस ठाउँमा धेरै वर्षदेखि बसोबास गर्दै आएका झण्डै १५० परिवारको उठिबास लाग्ने निश्चित छ।

स्थानीय जनताले यसको विरोध गरिरहेका छन्। दमक औद्योगिक पार्क संघर्ष समिति र संघीय लिम्बुवान मञ्चको नेतृत्वमा त्यहाँका स्थानीय बासिन्दा, दलित, जनजाति तथा अल्पसंख्यक समुदायले यसको घोर विरोध गरेका छन् । उनीहरूले गत चैत २४ गते दिन झापाको चन्द्रगढीमा धर्ना दिएका थिए।
यसअघि पनि करिब ७ हजार स्थानीयवासीले गौरादहमा गत फागुन ५ गते बृहत्रूपमा प्रदर्शन गरेका थिए। माग पूरा नभए आगामी दिनमा अझ बढी आन्दोलन गर्ने चेतावनी पनि उनीहरूको छ । निर्माणाधीन पार्कमा परेको जग्गाको उचित मुआब्जा नपाएकोमा स्थानीय आक्रोशित बनेका छन्।

आजकल चीनियाँ कम्पनीहरू आफ्नो परियोजना निर्माण गर्ने क्रममा स्थानीय बासिन्दाको भावनालाई ख्याल नगरी त्यहाँका प्राकृतिक स्रोत साधनहरू आफ्नै सुविधाअनुसार प्रयोग गर्ने गरेका छन् ।

निर्माण कार्यमा नेपालीहरूप्रति गरिने बेवास्ता, कामदारहरूप्रति गरिने दुव्र्यवहार र उनीहरूप्रतिको असहिष्णुता नै स्थानीय बासिन्दा र नेपाली जनताको चिनियाँ कम्पनीहरूप्रति बढ्दो आक्रोशको कारण हो ।

चिनियाँ कम्पनीका चिनियाँ व्यक्तिहरूको दुव्र्यवहारका घटनाहरु पनि बढेका देखिन्छन्। गत फागुन १४ मा सीनो हाइड्रो कर्पोरेसनका कामदार र प्रबन्धकबीच झडप भएको थियो । तनहुँको एउटा विद्युत परियोजनाको काम नै ठप्प हुन भएको थियो । पछि करिब चार सय कामदारहरूले कम्पनीले सहमतिअनुसार पैसा नदिएको भन्दै र १० प्रतिशत तलब वृद्धि गर्न माग गर्दै आन्दोलन गरेका थिए ।

यस्तै अर्को घटनामा गत मार्च २४ मा नवलपरासीको नारायणघाट–बुटबल सडक निर्माण परियोजनाका ठेकेदार र नेपाली कामदारहरूबीच झडप हुँदा ६ जना नेपाली कामदार घाइते भएका थिए। पैसा भुक्तानी सम्बन्धी समस्या सामाधान गर्ने कुराकानीको क्रममा चिनियाँ ठेकेदारहरूले नेपाली कामदारहरूमाथि कुटपिट गरेका थिए।

चीनले नेपाललाई एक असल छिमेकीको हैसियतले विभिन्न क्षेत्रमा सहायता गरिरहेको भएता पनि एक लगानीकर्ताको हिसाबले उसले लगानी गर्दा आफ्नो आर्थिक वा राजनीतिक स्वार्थको पनि त्यतिकै चासो राखेको हुन्छ । चीनले नेपालमा निर्माण गरिरहेको विभिन्न परियोजनाहरूमा चीनको निजी स्वार्थ रहेकै हुन्छ ।

यस्तै एक घटनामा अरनिको राजमार्ग निर्माण गर्ने चिनियाँ कम्पनीले सडक निर्माण गर्ने क्रममा त्यहाँका महत्वपूर्ण ढुङ्गा निर्माणकार्यमा जथाभावी प्रयोग गर्दा सिन्धुपाल्चोकका वासिन्दाहरूको आक्रोश भोग्नुपरेको थियो । जनताले यसको विरोध गर्दै त्यहाँको ढुङ्गा प्रयोग गर्न दिएनन्।

प्रतिक्रिया दिनुहोस