काठमाडौँको यो मन्दिरमा मान्छेको मासु काटेर चढाइंदै, किन गरिन्छ यस्तो ?

काठमाडौ। कोरोनाको पिसिआर टेस्ट गर्न नाकमा सुइरो घुसाउँदा मेरो सातोपुत्लो उडेको थियो। कहिलेकाहीँ इन्जेक्सन लगाउनुपर्‍यो भने सुई देखेरै सिरिंग भएर आउँछ। यस्तो पितुर्के मान्छेलाई जीउको मासु काट्ने वा छाला ताछ्ने कुरा सुन्दा के भयो होला। मेरो त डरले जीउभरि काँडा उम्रेका थिए, जब मैले पाटन, सुबहाल सौबहालको एउटा मन्दिरमा मान्छेको मासु चढाएर पूजा गरिन्छ भन्ने थाहा पाएँ।

धेरैलाई यस्तो परम्पराबारे सुनेरै अचम्म लाग्यो होला! यस्तो पनि पूजा हुन्छ कही हुँदो रहेछ, भइरहेकै छ। यो सुबहालको जय मनोहर महाविहारस्थित महांकाल मन्दिरको कथा हो, जहाँ हरेक दसैंमा नवमीको रात भक्तजनहरूले आफ्नै शरीरको मासु काटेर वा छाला ताछेर यज्ञवेदीमा अर्पण गर्छन्।

आज म तपाईंहरूलाई यही पूजाविधि र यसको कथा सुनाउँदैछु। धेरैलाई त सुबहाल कहाँ पर्छ भन्ने नै थाहा नहोला। काठमाडौं उपत्यकामा मूलसडकबाट भित्र गल्ली-चोकहरू चहार्दा यस्ता अनेकौं बहाल भेटिन्छन्, जहाँ प्रायः मान्छे बिरलै पुगेका हुन्छन्। सुबहाल त्यसैमध्ये एक हो।

म तपाईंहरूलाई त्यही ठाउँ लैजान्छु है त। मंगलबजार दरबार स्क्वायरबाट ग्वार्कोतर्फ बढ्दा लगभग पाँच सय मिटर दुरीमा सुन्धारा (लूँ हिति) आउँछ। त्यहाँ पुगेर कुनै दोकानदारलाई सोध्नुभयो भने सुबहाल जाने बाटो देखाइदिन्छन्। अहिलेलाई त तपाईं चिन्ता नगर्नू, म छु नि सँगसँगै।

हामी सुन्धाराको मूलसडकबाट देब्रे मोडिऊँ र सरासर अघि बढौं। अलि पर बाटो छुट्टिन्छ। दुइटा मोटरसाइकल सजिलै हाँक्न मिल्ने दाहिने बाटो अलिकति बढ्दा गणेश मन्दिर छ। अहिले यहाँ मर्मतसम्भार हुँदैछ, तपाईंहरू जाँदा पूरा भइसक्न सक्छ। मन्दिरको ठ्याक्कै पछाडि फराकिलो ढोका छ। ढोका पार गरेपछि फराकिलो बहाल आउँछ। सुबहाल भनेको यही हो।

बहालमा स–साना चैत्यहरू देखिन्छन्। तिनै चैत्यबाट दाहिनेतिर एउटा पुरानो घर छ, जहाँ काठको ढोकामाथि काठकै कलात्मक तोरण टाँगिएको छ। माथिल्लो तल्लामा साइनबोर्ड झुन्डिएको देखिन्छ, जसमा लेखिएको छ– श्री जय मनोहर महाविहार, सौबहाः (सुबहाः), ललितपुर महानगरपालिका, वडा नम्बर ८, यलः।

पाटनको सुबहालस्थित जय मनोहर महाविहार छिर्ने ढोका। यहाँ टाउको निहराउनुपर्ला है, ढोका होचो छ। भित्र आँखैअगाडि देखिन्छ महाविहार, जसको छत भुइँचालोमा भत्किएर बनेकै छैन। जस्ताले छोपछाप पारिएको छ। विहारकै छेउमा दक्षिण फर्केको छ, महांकाल मन्दिर।

ठाउँ त आइपुगियो, अब हामी काठमाडौं उपत्यकामा सायदै अन्त देखिने अनौठो पूजाको चर्चा गरौं। हामीसँग यो पूजाविधि र यससँग जोडिएको कथा विस्तार लगाउन ५० वर्षीय स्थानीय किरण शाक्य छन्।

हामी पुग्दा मन्दिरको ढोका बन्द रहेछ। मैले आँखीझ्यालबाट चिहाएँ। भित्र फराकिलो पूजाकक्ष थियो। त्यहीँ अर्को बन्द ढोका। ढोकाबाहिर नीलो पर्दा। पर्दामा तीनवटा आँखा र विभिन्न आकृति कुँदिएका। यसलाई महांकालको प्रतिरूप मानिने किरणले बताए।

नवमीको रात भक्तजनहरूले शरीरको मासु काटेर चढाउने ठाउँ यही हो। स्थानीयहरू यो संस्कारलाई ‘ला खायेगू’ भन्छन्। नेवार भाषामा ‘ला’ भनेको मासु, ‘खायेगू’ भनेको ताछ्नु। महांकाल मन्दिर देखाउँदै सुबहालका स्थानीय किरण शाक्य। महांकाल मन्दिरमा टांगिएको निलो पर्दा।

यो पूजा राति ७ बजेतिर सुरू हुन्छ। दुई गुभाजू र छ जना आजु (सुबहालकै सबभन्दा जेठा व्यक्ति) ले पूजाविधि सम्पन्न गर्छन्। पूजा व्यवस्थापन उमेरअनुसार छैठौं नम्बरका आजुबाट हुन्छ। बाँकी पाँच जना आजुले चर्या गीत गाउँछन्। उनीहरू डमडम डमरू बजाउँछन्। छनछन ताः छन्काउँछन्।

प्रतिक्रिया दिनुहोस