८५ वर्षका पूर्वसैनिक जो ६८ वर्ष पहिलेको २८ रुपैयाँ उधारो तिर्न अमेरिकाबाट फर्केर आए

काठमाडौं। सेनाबाट अवकाश पाएपछि अमेरिकामा बस्ने छोराकहाँ गएर बसेका एक जना सैनिक अमेरिकाबाट फर्केर आए। उनी फर्केर आउनुको कारण थियो २८ रुपैयाँ उधारो तिर्नु। यो उधारो उनले ६८ वर्ष पहिले छोडेका थिए।

आफू अमेरिका गए पनि आफूले तिर्नुपर्ने उधारो नबिर्सिएका यी पूर्वसैनिकले अहिले आएर २८ रुपैयाँ उधारोको सट्टा १० हजार रुपैयाँ तिरे। यो घटना भारतको हरियाणाको हिसार जिल्लाको हो।

हरियाणामा प्रथम नौसेना बहादुरी पुरस्कारबाट सम्मानित नौसेना कमाण्डर बीएस उप्पल अवकाश पाएपछि आफ्ना छोरासँग अमेरिका गएर बस्न थालेका थिए। अहिले अमेरिकाबाट फर्केर उनी हिसारको मोती बाजारस्थित दिल्लीवाला हलवाइकहाँ पुगे।

त्यहाँ पसलका मालिक विनय बंसललाई भने ‘तिम्रा हजुरबुवा शम्भु दयाल बंसललाई मैले १९५४ मा २८ रुपैयाँ तिर्नुपर्ने थियो तर म अचानक सहरबाहिर जानुपर्यो। त्यसपछि म नौसेनामा भर्ती भएँ।’

उप्पलले भने ‘तपाइँको पसलमा मैले दहीको लस्सीमा पेडा हालेर पिउँथें जसको २८ रुपैयाँ उधारो मैले तिर्नुपर्ने थियो।’ सेनामा सेवाका क्रममा उप्पलले हिसार आउने मौका पाएनन्। रिटायर भएपछि उनी छोराकहाँ अमेरिका गए। अमेरिकामा उनलाई २ कुरा याद आइरहन्थे।

पहिलो २८ रुपैयाँ उधारो तिर्नुपर्ने थियो र दोस्रो हरजीराम हिन्दु हाइस्कुलमा उनी १० कक्षा पास गरेपछि जान पाएका थिएनन्। उनले उधारो तिर्न र स्कुल हेर्नकै लागि अमेरिकाबाट आएको बताए।

बीएस उप्पलले विनय बंसललाई १० हजार रुपैयाँ दिएपछि उनले लिन अस्वीकार गरे। त्यसपछि उप्पलले आफूमाथि ऋणको बोझ भएकोले आफूलाई ऋणबाट मुक्त गरिदिन आग्रह गरे।

आफू अमेरिकाबाट ऋण तिर्नकै लागि आएको बताएर उनले निकै आग्रह गरेपछि अन्ततः निकै मुस्किलले बंसलले पैसा स्वीकार गरे। उप्पल त्यो पनडुब्बीका कमाण्डर थिए जसले भारत पाकिस्तान युद्धमा पाकिस्तानी पनडुब्बी डुबाइदिएर आफ्नो पनडुब्बी र नौसैनिक सुरक्षित ल्याएका थिए। यो बहादुरीको लागि उनलाई नौसेना पुरस्कार दिइएको थियो।-डीसिनेपालबाट।

प्रतिक्रिया दिनुहोस