कसरी जोडिन सकिन्छ वास्तविक जीवनसँग ?

काठमाडौं, कोही पनि व्यक्ति ज्ञान प्राप्त गर्नको लागि असक्षम हुँदैनन् । यदि तपाईं जान्नको लागि असक्षम हुनुभएको भए, म तपाईंमाथि आफ्नो समय बर्बाद गर्ने थिइनँ – विश्वास गर्नुहोस्, म यी कुराहरूप्रति एकदमै कठोर छु । यदि तपाईं पूर्ण रूपमा असक्षम हुनुहुन्छ भने, तपाईं कुनै सम्भावना नै होइन, तसर्थ म तपाईंसँग एक क्षण पनि खेर फाल्ने छैन । के तपाईंले मलाई कहिल्यै भ्यागुतोलाई ध्यान सिकाउने कोसिस गरेको देख्नुभएको छ ? मैले जीवविज्ञान (बायोलोजी) को कक्षामा बाहेक भ्यागुतासित एक क्षण पनि व्यर्थै बिताएको छैन, किनकि म त्यसमा कुनै सम्भावना देख्दिनँ ।

त्यसैले, प्रश्न यो होइन कि तपाईंमा सामर्थ्य छ वा छैन, प्रश्न यत्ति हो कि तपाईंमा इच्छुकता छ वा छैन ? अरू कसैले तपाईंमा इच्छुकता थोपर्न सक्दैनन्, यो तपाईंबाटै आउनुपर्छ । अरूले तपाईंलाई खाना पस्किन सक्छन्, तर जबसम्म तपाईंमा खाने इच्छा हुँदैन, अरूले पस्किएर खानको लागि अनुरोध गर्न मात्र सक्छन् – त्योभन्दा बढी केही गर्न सकिँदैन ।

यो पनि ठीक त्यस्तै हो, तर झन् सूक्ष्म रूपमा हुन्छ । हामी यसलाई तपाईंसामु अर्पण गर्न मात्र सक्छौँ, तर तपाईं स्वयं इच्छुक बन्नुपर्ने हुन्छ । अरू कुनै तरिका नै छैन । तब, स्वाभाविक रूपमा यो प्रश्न उठ्छ, ″इच्छुक हुनको निम्ति मैले के गर्नुपर्छ त ?″ यसरी हेर्नुको सट्टा तपाईंले आफूलाई अनिच्छुक बनाउनको लागि के-के गरिरहनु भएको छ भन्ने कुरामा ध्यान दिनु नै उत्तम हुन्छ ।

इच्छुक हुनु जीवनको स्वाभाविक प्रक्रिया हो । यतिखेर, तपाईंको छेउमा बसिरहेको व्यक्ति तपाईंलाई मन नपर्न सक्छ, तैपनि उसले श्वासको रूपमा छोडेको हावा आफूभित्र लिन भने तपाईं इच्छुक हुनुहुन्छ, होइन र ? यहाँ सम्म कि तपाईंकी सासु आमाले जुन हावामा श्वास फेरिरहनु भएको हुन्छ, तपाईं त्यसलाई पनि आफूभित्र लिनुहुन्छ ! खासमा भन्ने हो भने, जब तपाईंको वरपर मन नपर्ने व्यक्ति बसिरहेको हुन्छ, त्यसबेला तपाईं झन् गहिरो श्वास फेरिरहनु भएको हुन्छ । अतः यदि तपाईंकी सासु छेउछाउमा हुनुहुन्छ भने, तपाईं सामान्यभन्दा अझ बढी श्वास लिइरहनु भएको हुन्छ !

जीवनको मूल प्रक्रिया नै इच्छुकता हो-यो श्वासको स्तरमा मात्रै हुने होइन । यदि तपाईंले परमाणुको स्तरमा हेर्नुभयो भने, परमाणु अनि बाँकी अस्तित्वबिच निरन्तर आदान-प्रदान भइरहेको हुन्छ । तपाईं जसलाई जीवन भन्नुहुन्छ, त्यो इच्छुक हुने प्रक्रिया हो । तपाईं इच्छुक हुने वा नहुने भनेर रोज्न सक्ने एकमात्र स्थान भनेको तपाईंको मन हो— तर, तपाईं त्यसलाई जथाभावी प्रयोग गर्दै हुनुहुन्छ ।

यदि तपाईंले आफ्नो शरीर, श्वास, हृदय, कलेजो वा मृगौलालाई अनिच्छुक बनाउनु भएको भए, तपाईं मर्नुहुने थियो । तपाईंको जीवनको लागि अत्यावश्यक पर्ने चीजहरूलाई प्रकृतिले आफ्नो हातमा राखेकी छिन् । प्रकृतिले तपाईंको हातमा एउटा सानो चीज थमाएकी छिन्, तर त्यसलाई समेत तपाईं अस्तव्यस्त पार्न चाहनुहुन्छ । तपाईंसँग यो मन छ, जहाँ तपाईं केही गर्न सक्नुहुन्छ । तपाईं यसलाई जीवनको प्रक्रियाप्रति कि त इच्छुक बनाउन सक्नुहुन्छ वा अनिच्छुक । अरू सबै चीजहरूको सन्दर्भमा तपाईंसँग कुनै विकल्प हुँदैन, यसैपनि ती स्वतः इच्छुक छन् ।

प्रतिक्रिया दिनुहोस