तत्काल ‘लकडाउन’ नहुने, हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपालमा यसबारे चासो बढेको छ । ओमिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ ।

नेपालमा हालसम्म ओमिक्रोनको कुनै पनि ‘केस’ नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यद्यपि, ओमिक्रोन भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यकबाहेक विदेश यात्रा नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग गराइरहेको छ ।कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपाल भित्रिन नदिन सरकारले संक्रमण बढी फैलिएका नौ देशबाट नेपाल आउन रोक लगाइसकेको छ ।

गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको छ । ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई पनि बिहीबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमतिमा रोक लगाइएको छ ।

यस्तै, संक्रमणको जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने निर्णय सरकारले गरेको छ । सोही निर्णयानुसार ती देशहरूबाट हवाई तथा स्थलमार्ग हुँदै नेपाल आउन रोक लगाइएको अध्यागमन विभागका महानिर्देशक नारायाणप्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस