त्यसपछि उनी आई.ए को सर्टिफिकेट थन्क्याएर भरिया बने ..

काठमाडौं भोटेबहालमा पसलका लागि सामान किन्ने व्यापारीको भीड लागेको थियो । कोही सामान झार्ने त कोही सामान गाडीमा राख्न व्यस्त थिए । यसैबीचमा सामान बोक्ने भरियाहरू तँछाड मछाड गर्दै अरुले भारी फुत्काउलान् कि भनेर मौका छोप्न तल्लीन थिए । यही भीडबाट एक भरियाले अर्को साथीलाई ‘हेड मास्टर’ यता ‘हेडमास्टर’ यता भन्दै बोलाइरहेका थिए । हामी पनि भरियाको भीडमा को रहेछ ‘हेडमास्टर’ भनेर खोज्न थाल्यौँ ।

भरियाका बीचमा रहेका ‘हेडमास्टर’ हामीले सोचेको भन्दा फरक थिए । हेर्दाहेर्दै त्यहीँ भिडबाट हेडमास्टर भनिने हरिकुमार जिरेल खुट्टामा आलो घाउ, जाडोको समयमा पनि हाफ पाइन्ट अनि सर्टको बाहिर ज्याकेट लगाएर हातमा नाम्लो लिँदै देखापरे । उनको अनुहार थाके जस्तो देखिन्थ्यो । अनुहार चाउरी परिसकेको, खुट्टामा भर्खर लागेको घाउ लिएर नजिकैको बोरामा लामो श्वास लिँदै थचक्क बसे । उनी वास्तविक पढाउने हेडमास्टर भने होइनन्, उनलाई आफ्ना साथीहरूले बोलाउने नाम रहेछ ‘हेडमास्टर’ ।

दोलखामा जन्मिएका हरिकुमारले २०४२ सालमा एस्.एल.सी सक्काए । त्यो वर्ष जम्मा १४,६४८ ले एस्एलसी पास गरेका थिए । पढाईमा सँधै अब्बल आउने उनलाई मास्टर बन्ने ठूलो धोको थियो । उनी उच्च शिक्षाको लागि काठमाडौं आए । रत्नराज्य क्याम्पसबाट २०४४ सालमा आई.ए सम्मको अध्ययन पूरा गरे । त्यसपछि उनी थप अध्ययन गर्न भनेर भारतको सिक्किम पुगे ।

सिक्किम पुगेपछि उनलाई काम गर्दै आफ्नो पढाई पनि अगाडि लैजाने रहर जाग्यो र ग्यास प्लान्टको एक कम्पनीमा सामान बोक्ने काम सुरुवात गरे । “त्योबेला पढाईको महत्व धेरै थियो । त्यस समय पढेको मान्छेले राम्रो जागिर पाइन्थ्यो तर म भने राम्रो जागिर खोज्न छाडेर ग्यास प्लान्टमा रोजगारीका लागि पुगे” हरि भन्छन् ।

सिक्किममा पढेका धेरै थिए होलान्, तर त्यो समयमा नेपालमा आई.ए पास गर्ने युवाहरूको माग जताततै हुन्थ्यो । विभिन्न जिल्लामा शिक्षकको अभाव त थियो नै सरकारी सेवामा पनि योग्यता भएकाहरू प्रतिस्पर्धा गर्ने कमै थिए । उच्च शिक्षा अध्ययन गर्ने रहर पछ्याउदै जाँदा हरिकुमार बाध्यताबश कमाउन तिर लागे त्यो पनि विदेशी भूमिमा ।

उनले गर्ने जागिर त्यति स्तरीय थिएन । ग्याँसप्लान्टमा सामान ओसारपसार गर्ने काम गर्दागर्दै उनलाई उमेरले नेटो नाघेको पत्तै भएन । सर्टिफिकेटको महत्व थाहा पाउने समयसम्म पढाई सक्काउने वातावरण नै भएन ।

जीवनको ३ दशक भारतको सिक्किममा बिताएका हरिकुमार २ वर्ष अघि भने नेपाल फर्किए । नेपाल फर्किएपछि पनि खाली बस्न मन लागेन र महाबौद्ध क्षेत्रमा भारी बोक्न आइपुगे । उनी अहिले काठमाडौं महाबौद्ध क्षेत्रमा नै भेटिन्छन् । जमानामा आई.ए गरेका हरिकुमारलाई उनको शिक्षाको कारणले नै सबैले ‘हेडमास्टर’ भन्ने गर्दा रहेछन् । उनी भन्छन्,“तीन दशक पैसा खोज्दा खोज्दै पढाई भुलेँ, अहिले चाहेर पनि पढ्न सक्दिन । आई.‍ए.को सर्टिफिकेट दराजमै थन्कियो ।”

उनले पढ्न त ३ दशक अगाडि नै छाडिदिए तर त्यहीबेला थाप्लोमा परेको नाम्लोले भने अहिलेसम्म छाडेको छैन । उनलाई उमेरमा जागिर खाएको भए अहिले भारी बोक्न पर्ने थिएन कि जस्तो लागिरहन्छ ।

उनी भन्छन्,“पढ्ने उमेरमा पैसा देखियो । पैसा चिन्ने भैयो.. अहिले अक्षर नचिन्ने भइसके ।”

उमेर ढल्किएको कारण हरिकुमारलाई काम गर्न सजिलो लाग्दैन अहिले । जवानीमा सजिलै बोक्न सक्ने भारी अहिले गर्हौं लाग्छ । कोही बेला त भारी थाम्न नसकेरै चोटपटक पनि लाग्छ ।

एक हप्ता अघि असन चोकमा हिँड्दाहिँड्दै उनको खुट्टामा चोट लाग्यो । थाप्लोमा नाम्लो लगाएर भारी बोकी महाबौद्ध पुर्‍याउन लैजाँदै गर्दा उनलाई चोट लागेको रहेछ । चोट लागेपनि जीविको चलाउन पर्छ भन्ने उनलाई लाग्यो र नओभाएको घाउ बोकेर उनी फेरि वीर अस्पताल छेउमा पुगे । उनी भन्छन्,“चोट लागे पनि भारी नबोकी त पैसा आउँदैन । त्यही भएर वीर अस्पतालमा मल्हमपट्टी लगाएर फेरि यही आइपुगेँ”

हरिकुमार असन महाबौद्ध क्षेत्रमा बिहान ७ बजेदेखि बेलुकासम्मको समय बिताउँछन् । बिहान ७ बजे वीर अस्पताल बाहिर साथीहरूसँग चियाको चुस्की लिएसँगै उनको दैनिकी सुरुवात हुन्छ । दैनिक १०-१२ वटा भारी बोकेपछि उनी कमाईको पैसा लिएर असनको ज्याठामा भएको कोठामा पुग्छन् । ज्याठामा उनको कोठा छ जहाँ ४ जना अरु भरिया साथीहरूसँग बस्छन् उनी । एकजनाको भागमा महिनाको ५ सय ५० रुपैयाँ भाडा पर्छ । बाँकी केही पैसा खानपिनमा खर्च हुन्छ ।

हरिकुमार भन्छन्,“बिहान देखीको कामबाट दैनिक हजार १२ सयसम्म कमाउँछु । खाजा, चिया खाएको खर्च कटाएर बचाएको पैसाले मेरो र परिवारको जीविको चलाउनै पर्यो ।”

हरिकुमारको परिवारमा ३ छोरा र १ छोरी छन् । जेठो छोराको विवाह भइसक्यो । हरिकुमारको एउटी सानी नातिनी छन् । माहिला छोरा अशक्त छन्, हिँडडुल गर्न सक्दैनन् । उनको खानपान र हेरविचार गर्न हरिकुमार घरमा मासिक पैसा पठाउँछन् । छोरी १६ वर्षकी भइन्, अब उनको शिक्षा दीक्षादेखि विवाहसम्मको जिम्मेवारी हरिकुमारले नै उठाउँछन् ।

हरिकुमारसँगै भारी बोकेर जीविको धान्दै आएका काभ्रेपलाञ्चोक कोशीपारीका कुमार थापाले पनि १४ वर्ष भारतमा गाडी कुदाए । गाडी कुदाउँदा कुदाउँदै दुर्घटना भएपछि उनलाई गाडीको स्टेरीङमा बस्न मन लागेन र वीर अस्पतालको आडमा भारी बोक्न आइपुगे । उनले काठमाडौं आएर भारी बोक्न सुरुवात गरेको भने २ वर्ष पुग्यो । लकडाउनको समयमा पनि उनी आफ्नो घर नगई असनका गल्लीमा एक्लै भारी बोक्न बसे ।

हरिकुमारले जस्तो किताबको ज्ञान कुमारले लिएनन् तर जिन्दगीले उनलाई थुप्रै सिकायो । कहिले ड्राइभर भएर मानिसको भारी बोके त कहिले विदेशका चप्पाचप्पा भौँतारिए । अहिले पनि जीवन कटाउन भरिया भएर संघर्ष गर्दैछन् ।
तस्विर: बिना सुनार/जीविको

असन महाबौद्ध क्षेत्रमा भारी बोक्ने झण्डै डेढ सय भरियाहरूसँगस कुमारको बेग्लै सामिप्यता छ । सँगै बस्ने, गीत गाउने अनि कहिलेकाहिँ भारीकै निउँले झगडा गर्ने उनीहरूको दैनिकी नै बनेको छ । कोही बेला दु:ख-सुख साट्छन् । हाँस्छन् अनि सँगै गाउँदै बस्छन् ।

कुमार भन्छन्,“सबेरै नाम्लो बोकेर यहाँ नआए कुनै ठूलो कुरा छुटाएझैँ लाग्छ । नाम्लो साथी अनि भरियाहरू सहयात्री बनेका छन् ।”

उनी भारतमा ड्राईभरको जागिर खाँदा मासिक तलब आउँथ्यो तर तलबका लागि महिना दिनसम्म पर्खनुपर्ने हुन्थ्यो । त्यसैले अहिले भारी बोकेर दैनिक रुपमा पैसा पाउँदा खुसी देखिन्छन् कुमार । उनलाई काम सानो ठूलो लाग्दैन । ठूलो भारी बोकेर भर्खरै बिसाएका उनको अनुहारमा सन्तुष्टि प्रष्ट देखिन्थ्यो । “भरिया काममा दु:ख त छ तर दैनिक पैसा पाइन्छ, जागिर जसरी पर्खनु भने पर्दैन” उनी भन्छन् ।

कुमारका तीन छोरी छन्, जसमध्ये जेठी छोरीको विवाह भइसक्यो, अर्की छोरी पसलमा काम गर्छिन् । सानी छोरी भने पढ्दै छिन् । कुमारले भारी बोकेरै पढाउदै छन् छोरीलाई ।

“म विदेश चाहिँ जान्न, यहाँकै कमाइले म सन्तुष्ट छु” उनी भन्छन् ।

दिनभर भारी बोक्दा दैनिक १ हजारदेखि १२ सय रुपैयाँसम्म कमाउँछन् यहाँका भरियाहरू ।

“दिनभर काम गर्दा पैसासँगै शरिरको दुखाई पनि दैनिक कमाइन्छ । त्यसैले धेरै बेर टिक्न सकिँदैन ।” छेउमा बसेका हरिकुमारले भन्दै थिए ।

भरियाहरूको आफ्नै दुखेसो छ, “धेरैले ज्याला दिन पनि आनाकानी गर्छन भने कतिले त दिन्नन् पनि ।” भरियाहरू दिक्क मान्दै भन्छन्,”आखिर जाने कहाँ ?” नेपालमा भरियालाई कतैबाट पनि सुरक्षा छैन ।
महाबौद्ध क्षेत्रमा भारी बोक्दै गरेका भरियाहरु तस्विर: बिना सुनार/जीविको

राज्यले भरिया पेसालाई व्यवसाय भनेर लिएको पाइन्न । भरियाको सुरक्षा भरिया नै हुन् । ज्यालासँगै, सेवा र सुरक्षा पनि भरिया आफैले तय गर्नु पर्ने हुन्छ । कुमार अनि हरिकुमारजस्ता भरियाहरुको संघर्षमय जीवन सुन्दा रमाइलो तर जिउन भने साह्रै गाह्रो छ । “हाम्रो त हेपिने नियति नै हो, इज्जत पनि कहाँ छ र ?” उदास हुँदै हरिकुमार भन्छन् ।

प्रतिक्रिया दिनुहोस