जनताको भावना अनुसार एमसीसी अगाडि बढ्छ : अध्यक्ष नेपाल

सल्यान, पुस ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताउनुभएको छ । एमसीसीको अन्तरवस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने र एमसीसीको गहिराई बुझेर मात्र लागु पर्ने प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाइ छ ।

समाजवादी प्रेस संठन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालले आर्थिक सहयोगलाई मात्र लक्षित गरेर एमसीसी पास हुने उहाँको भनाइ छ । ‘एमसीसीको अन्तरवस्तु र जनताको भावनालाई बुझेर मात्र यसलाई अगाडि बढाउछौँ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘एमसीसीको गहिराई नबुझेसम्म प्रक्रिया अगाडि बढ्दैन ।’

अर्को एक प्रसङ्गमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनलाई टुटाउन दक्षिणपन्थी शक्ति लागि परेको बताउनुभयो । दक्षिणपन्थी शक्तिको नेतृत्व नेकपा (एमाले) अध्यक्ष केपी ओलीले गर्नुभएको उहाँको आरोप छ।
एमसीसीलाई दाउपेच बनाएर गठबन्धन टुटाउन एमाले अध्यक्ष ओलीले गरेको प्रयास सफल नहुने दाबी अध्यक्ष नेपालले गर्नुभयो ।

अहिलेको अवस्थामा निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताउँदै अध्यक्ष नेपालले सरकार सञ्चालनका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धन आवश्यक रहने उल्लेख गर्नुभयो ।

त्यसैगरी सल्यानमा आयोजित अगुवा कार्यकता प्रशिक्षण सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी नीतिविरुद्ध केपी ओली अघि बढेकाले एमालेबाट विद्रोह गरेको बताउनुभएको छ । कार्यक्रममा पार्टीका कर्णाली प्रदेशका इञ्चार्ज प्रकाश ज्वालाले कर्णाली प्रदेशमा समाजवादी पार्टी अरुसँग प्रतिस्पर्धा गर्ने हैसियतमा भएको बताउनुभयो । ‘सल्यानमा समाजवादी पार्टी अन्य पार्टीसँग प्रतिस्पर्धा गर्ने हैसियतमा छ’, नेता ज्वालाले भन्नुभयो, ‘आगामी चुनावमा जित्ने बलियो आधार छ ।’

प्रतिक्रिया दिनुहोस