विद्यार्थीको भेषमा भाडामा बसेर यस्तो गर्ने युवतीसहित ४ जना पक्राउ

काठमाडौं, २७ पुष । गत १२ पुसमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठको घरबाट १३ तोला सुनका गरगहना र नगद एक लाख रुपैयाँ चोरी भयो । चौतारा साँगाचोकगढी नगरपालिका-५ पुरानो बजारमा उनको घर छ । घरका सबै सदस्य काममा जाने भएकाले दिउँसो उनको घरमा ताला लागेको हुन्छ ।

दिनभर घरमा कोही नभएपछि १२ पुस दिउँसो घर चोरी भयो । बेलुका घरका मानिस सबै जम्मा भए । घरको बाहिरी ढोकामा ताला सही सलामत थियो । चोरी भएको कुनै संकेत थिएन । तर, जब दराजमा परिवारका सदस्यको ध्यान गयो, तब मात्र घरमा चोरी भएको पुष्टि भयो ।

कोठामा छिर्ने ढोका र दराज फुटाएर चोरी भएको थाहा पाएपछि श्रेष्ठकी पत्नी गुणकेशरी श्रेष्ठले तत्कालै प्रहरीलाई सूचना गरिन् । तर, प्रहरीलाई चोर पत्ता लगाउन निकै कठिन भयो । श्रेष्ठ दम्पतीले आफ्नै घरमा भाडामा बस्नेमाथि अनुसन्धान गरे । सुनकोसी गाउँपालिका–६ पाखर घर भएकी २० वर्षीया कञ्चन पराजुली दुई महिनादेखि भाडामा बस्थिन् ।

उनी आफू विद्यार्थी भएको बताउँथिन् । गुणकेशरीले पराजुलीमाथि शंका गरेर प्रहरीलाई सूचना दिइन् । घरमा दिउँसो प्रायः ताला लाग्ने भएकाले पराजुलीलाई एकपटक साँचो र ताला दिइएको थियो । त्यही समयमा उनले घरको अवस्थाबारे सबै जानकारी लिएको र साँचो हरायो भनेर बहाना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले १८ पुसमा पराजुलीलाई पक्राउ गरेर अनुसन्धान बढायो । केही दिनमा उनले चोरीमा संलग्न व्यक्ति र योजनाबारे खोलिन् । त्यसैका आधारमा डाँकाचोरीमा संलग्न अन्य तीनजनालाई प्रहरीले २३ पुसमा पक्राउ गरेको थियो ।

भक्तपुर चाँगुनारायण ताथली बस्ने इन्द्रावती गाउँपालिका-९ सिपाटारका २६ वर्षीय बिक्की भनिने अनिल तामाङ, भक्तपुर सूर्यविनायक-४ बस्ने इन्द्रावती गाउँपालिका–९ सिपाटार निवासी २५ वर्षीय बुद्ध तामाङ र भक्तपुर कमलविनायक बस्ने इन्द्रावती गाउँपालिका–१० बडहरेका २४ वर्षीय मनीष सुन्दासलाई थानकोटबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी निरीक्षक हरिबोल केसीको कमान्डमा गएको प्रहरी टोलीले दसीसहित डाँकाचोरीमा संलग्नलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले सुन, चाँदी, नगद र चोरीमा प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार आधा तोला सुनको १० गेडी मंगलसूत्र, आधा तोलाको लकेट, एक तोलाको बेरुवा रिङ, चाँदीको कल्ली एक जोर, चाँदीको लकेट, सुनजस्तो देखिने सिक्री र लकेट एक थान, कानमा लगाउने कुन्डल एक जोर, पाँचवटा सिक्री, शिरबन्दी, नेक्लेस, सिक्का राख्ने कन्तुर, मोबाइल फोन पाँच सेट र प्रदेश-३-०२-०१३ प १०६४ नं. को एक्स प्लस बाइक बरामद गरेको छ ।

१३ तोला सुनमध्ये ६ तोला भेटिए पनि केही सुनको स्वरूप परिवर्तन गरिएको उनले बताए । ‘हामीले घटनालाई गहिरो गरी अध्ययन गरेर अनुसन्धान जारी नै राखेका छौँ,’ एसपी अधिकारीले भने, ‘विद्यार्थीको भेषमा केटीलाई प्रयोग गरेर डाँकाचोरी भएको जस्तो देखिन्छ ।’ चोरीमा संलग्न पराजुली र मनीष सुन्दास प्लस टुका विद्यार्थी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस