औसधिय गुणले भरिपुर्ण छ हाम्रै घर आँगनमा पाइने झार ” टोप्रेझार” :

टोप्रेझार अर्थात् घोडताप्रे एपिएसी परिवारमा पर्ने उष्ण प्रादेशिक औषधिय अनि हलका बास्नादार बोट हो। यो लहरे झार वर्गको एक सामान्य वनस्पति हो। यसको वैज्ञानिक नाम सिन्टेला एसियाटिका (centella asiatica) हो। यत्रतत्र भेटिने यस झार प्राचीन कालदेखी औषधिका रुपमा प्रयोग हुँदै आएको पाइन्छ। यस बोटबाट अलिक पृथक खालको बास्ना आउँछ जसलाई जोकोही मन पराउँदैनन्।

यो धेरै वर्षसम्म बाँच्न सक्ने वनस्पति हो जसको उचाई सामान्यतया १५ से.मी. र ठूला प्रजाती भए २५से.मी. हुन्छ। यसका पातहरु समूहमा हुन्छन्, पछाडिबाट हेर्दा उभिएको भ्यागुतो जस्तो देखिने भएकाले संस्कृतमा यसलाई ‘मन्दुकपर्नी’ भनिन्छ।

यसको काण्ड लहराको रुपमा फैलिएको हुन्छ। यसका फूलहरु सेतो देखि वैजनी गुलाबी रङका हुन्छन्। यसमा लामो, गोलो आकारको फल लाग्दछ जुन करिब २ इन्च लामो हुन्छ। यसको जरा प्रत्येक गाँठहरुबाट निस्केको हुन्छ।

यो उष्ण प्रदेशमा व्यप्त रुपमा देखिने लहरे झार हो। विशेषतः छाया परिराख्ने, चिसो अनि दलदल ठाउँहरु जस्तो कि धानखेत, खोलाका किनारमा हरियो गलैँचाका रुपमा विकसित भएको हुन्छ। यसको जरा चिम्ट्याइलो माटोमा भन्दा बलौटे दोमटमा बढी फस्टाउने गरेको पाइन्छ। गह्रौ धातुहरुले गर्दा बिग्रेको माटोमा यो लगाउँदा यसको जराले माटोमा ती धातुहरुको प्रभाव घटाएर आफूलाई स्थापित गर्छ।
यसका फाइदाहरु:

गाउँघरमा यत्रतत्र उम्रने यस झारका फाइदाहरु आंशिक रुपमा अवगत हुँदाहुँदै पनि बेवास्ता गरेको पाइन्छ। यसको सम्पूर्ण भागहरु औषधिका रुपमा प्रयोग गर्न योग्य हुन्छन्। यसमा एन्टीअक्सिडेन्ट तथा एन्टीमाइक्रोबिएल क्षमता हुन्छ।

यो सेवन गरेमा मानव शरिरका नसाहरुको संरक्षण गर्ने न्युरोप्रोटेक्टिभ कार्य सक्रिय हुन जान्छ। त्यसकारण, बौद्धिक क्षमता वृद्धिका लागि वरदान साबित भएको यो झारलाई “दिमागी खाना(Brain Food)”को संज्ञा पनि दिइएको छ। यसमा एन्टीस्ट्रेस फर्मुला(Anti-stress Formula) हुन्छ जसले डिप्रेसन जस्तो मनोवैज्ञानिक रोगबाट पनि मुक्ति दिलाउन सहयोग गर्छ।

प्रतिक्रिया दिनुहोस