गाईलाई भीआर चस्मा लगाइदिँदा खुसी भएर धेरै दूध दियो !

एजेन्सी । टर्कीमा एक किसानले गाईलाई ‘भर्चुअल रियालिटी’ अर्थात भीआर चस्मा लगाएर हरियाली चौरमा चरिरहेको आभास गराए र नतिजा स्वरुप खुसी भएर गाईले धेरै दूध उत्पादन गरेको किसान इजेट कोखक बताउँछन् ।

रमणीय दृश्यले गाईलाई आरामदायी र खुसी बनाउँदा दूध पनि बढी दिने यसअघि एक अध्ययनले देखाएको थियो जसकै आधारमा उनले पनि आफ्ना वस्तुमा यो परीक्षण गरेका हुन् ।

उनका अनुसार यो उपाय लगाउँदा गाईले दिने दूधको मात्रा प्रति दिन २२ लिटरबाट बढेर २७ लिटरसम्म पुगेको छ ।

किसान इजेटका अनुसार उजाड मौसमका बेलामा हरियो चौर देख्नुले गाईलाई वास्तवमै भावनात्मक प्रभाव पार्ने रहेछ । उनी भन्छन्, “यसले उनीहरुमा स्ट्रेस पनि कम गरायो । ”

यसरी भीआर चस्मा लगाएको गाईले खुसी हुँदै सुख्खा पराल खाइरहेको तस्बिर यतिबेला सामाजिक संजालमा चर्चामा आइरहेको छ । धेरैले यसलाई सायन्स फिक्सन फिल्म, ‘द म्याट्रिक्स’ सँग तुलना गरेका छन् ।

यसरी जीवजन्तुमा भीआर प्रयोग गर्ने उपाय पहिलोपटक रुसको मस्काउमा परीक्षण गरिएको थियो । सुख्खा मौसममा पनि गाईवस्तुहरुलाई हरियालीपन महसुस गराउन त्यहाँका किसानले भीआर निर्माताहरुसँग सहकार्य गरेका थिए ।

रुसको कृषि तथा खाद्य मन्त्रालयका अनुसार रिसर्चमा भीआरले गाईमा स्ट्रेस र एन्जाइटी कम गराइ समग्र मुड राम्रो बनाइदिनाले सकारात्मक नतिजा देखिएको थियो ।

यसमा भीआर निर्माताहरुले गाइको टाउको फिट हुनेगरि विशेष तरिकाको सेट निर्माण गरेका थिए । त्यस्तै प्राविधिक विद्हरुले गाईले हेर्ने दृश्यसँग अनुकुल रङ मिलावटमा पनि ध्यान दिएका हुन् । गाईले प्राय पहेँलो, हरियो, नीलो र बैगुनी रङ मात्र राम्ररी देख्न सक्छ ।

त्यस्तै अर्को स्कटिस रिसर्चमा चाहिँ गाईवस्तुहरुमा वातावरणीय अवस्थाको उल्लेखनीय प्रभाव पर्ने गरेको पत्ता लागेको थियो ।

यसले तिनको स्वास्थ्य र मुडमा समेत असर पार्ने हुँदा दूध उत्पानको मात्रा र गुणस्तरसम्म प्रभावित हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस