त्रिभुवन विमानस्थलमा आजफेरी यस्तो भयो ! ३ करोड नेपालीको शिर निहुरियो

काठमाडौं, पुस २९ – अध्ययनका लागि बंगलादेशको ढाका पुगेका नेपाली विद्यार्थीको लगेज फुटाएर विमानस्थलमा चोरी भएको छ । मंगलबार काठमाडौंबाट हिमालय एयरलाइन्समार्फत ढाका पुगेकी विद्यार्थी नित्या कार्कीलगायतको लगेज चोरी भएको हो । तर, चोरी काठमाडौं वा ढाकास्थित विमानस्थल कहाँ भयो भन्ने यकिन छैन ।

कार्कीको लगेजबाट आठ सय अमेरिकी डलर, मोबाइलको चार्जर र खानेकुरा चोरी भएको हो । अन्य विद्यार्थीको पनि लगेज फुटाइएको थियो । नेपाली मेडिकल विद्यार्थी एसोसिएसन बंगलादेशले घटनाको अनुसन्धानमा नेपालस्थित विमानस्थल कार्यालयबाट असहयोग भएको भन्दै छानबिन गर्न आग्रह गरेको छ ।

ढाकास्थित विमानस्थलमा सिसिक्यामेरा फुटेज हेर्दा काठमाडौंकै विमानस्थलमा लगेज फुटाएर चोरी भएको सम्भावना देखिएको एसोसिएसनले जनाएको छ । कार्कीका आफन्त बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा सिसिक्यामेरा फुटेज लोड नभएको भन्दै अनुसन्धानमा चासो नदिइएको एसोसिएसनका अध्यक्ष नवीन यादवले बताए ।

‘बोर्डिङ पास हुँदासम्म लगेज च्यातिएको अवस्थामा नरहेको सिसिटिभी फुटेजमा देखिएको। त्यसपछि सिसिटिभीमा देखिएन भनेर दाइलाई एयरलाइन्सले फर्काएछ। त्यसमाथि लगेजमा पैसा राख्नु नै गल्ती भनेछ। लगेजमा पैसा मात्रै महत्वपूर्ण कुरा होइन हरेक सामान महत्वपूर्ण हुन्छ। यात्रुको सामान लिइसकेपछि सुरक्षाको जिम्मा लिनुपर्छ,’ नित्याले भनिन्।

नित्या कार्की

‘यस्तो गल्ती त यहाँ भइरहन्छ त्यसमा यात्रु आफैं सचेत हुनुपर्छ’ भनेर एयरलाइन्सले यसलाई सामान्य रूपमा लिएर पन्छाउन खोजेको आरोप उनले लगाइन्। ‘हामी धेरै पैसा भएर जहाज चढेको होइन। आमाबुबाले दुःख गरेर जुटाएको पैसा मैले छ महिनाका लागि पकेट खर्च भनेर ल्याएको हो। सबै हरायो। मेरो सामान र पैसा एयरलाइन्सले बेहोर्नुपर्छ,’ उनले भनिन्।

नेपालबाट ढाकामा कलेज शुल्कका लागि मात्रै रकम पठाउन मिल्ने तर पकेट खर्चका लागि पठाउन सहज नभएका कारण पनि आफू अझ अप्ठ्यारोमा परेको उनको भनाइ छ।

‘मसँग धन्न त्यो तीन हजार पाँच सय टाँका (ढाकाको पैसा) थियो र नत्र भने त अरू एक रूपैयाँ पनि छैन। अब छ महिना कसरी खर्च चलाउने भन्ने चिन्ता छ,’ उनले भनिन्। उनको मात्रै होइन उनकै साथी महिमा सिंह ठकुरीको पनि झोलाको ताल्चा फुटाइएको अवस्थामा थियो। तर झोलाभित्र कपडा मात्रै भएकाले चोरी नभएको उनले बताइन्।

‘झोला काटेर ह्वाङ्गै पारिएको रहेछ। त्यो बेला याद गरिएन। कोठामा पुगेर हेर्दा लक पनि फुटिरहेको रहेछ,’ उनले भनिन्। साथीको झोलामा नगद नभएकाले चोरी हुनबाट जोगिएको हुन सक्ने नित्या बताउँछिन्।

अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नागरिक उड्डयन कार्यालयमा त्यससम्बन्धी उजुरी आएको र छानबिन भइरहेको जानकारी दिए । अनुसन्धानमा हिमालय एयरलाइन्सले पनि चासो नदिएको विद्यार्थीको आरोप छ । चोरी भएको धनमाल हस्तान्तरणमा ढिलाइ भए एयरलाइन्सविरुद्ध कानुनी प्रक्रिया थाल्ने चेतावनी विद्यार्थी एसोसिएसनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस