जापानको टोकियोमा आज मात्रै ७८ काेराेना संक्रमित भेटिए, मेयरले गुहारिन् सरकार

टोकियो, १८ चैत । जापानको राजधानी टोकियोमा आज एकै दिन ७८ जना काेराेना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै जापानमा कोरोना संक्रमितको संख्या २१ सयबाट उकालो लागेको छ ।

नेपालीहरुको अधिक बसोबास रहेको जापानमा पछिल्लो समय कोरोनको प्रकोप तीब्र गतिमा फैलिँदो छ । अधिकारीहरुका अनुसार कोरोनाको संक्रमणबाट अहिलेसम्म जापानमा ५९ जनाको मृत्यु भएको छ ।

जापानले सरकारले कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गर्दा स्वदेशमा भेटिएका र क्रुज (पानीजहाज)मा भेटिएका संक्रमितहरुको संख्या छुट्टाछुट्टै सार्वजनिक गर्ने गरेको छ ।

जापानको योकोहामाबाट एसियाका विभिन्न देशमा गएर फर्केको पानीजहाजमा पनि केही संक्रमितहरु भेटिएका थिए । उक्त पानीजहाजमा ७१२ जना कोरोनाका संक्रमित भेटिएका थिए । जसमध्ये ६०३ जना उपचारपछि घर फर्किएका छन् भने ११ जना अझै अस्पतालमा उपचाररत छन् । ११ जनाको भने मृत्यु भैसकेको छ ।

परिस्थितिको मूल्यांकन गर्न आग्रह

यसैबीच टोकियो महानगरकी गभर्नर (मेयर) कोइकेले प्रधानमत्री सिन्जो आबेलाई परिस्थितिको मूल्यांकन गर्न आग्रह गरेकी छिन् ।

प्रधानमन्त्री आबेसँग संवाद गर्दै उनले सरकारले आपतकालीन अवस्था घोषणा गर्ने हो कि नगर्ने हो, जनतालाई प्रष्ट पार्नुपर्ने बताएको एनएचकेले आफ्नो अनलाइनमा लेखेको छ ।

‘पछिल्ला तथ्यांकबारे सरकार राम्रोसँग जानकार छ । के गर्दा ठीक हुन्छ, परिस्थिति हेरेर निर्णय गर्नुहोस्,’ कोइकेले प्रधानमन्त्री आबेलाई भनेको कुरा उदृत गर्दै एनएचकेले लेखेको छ, ‘आपतकाल घोषणा हुन्छ कि हुँदैन भनेर जनता अन्योलमा परेका छन्, यसको अन्त्य गरौँ ।’

यसअघि गभर्नर कोइकेले आकस्मिक पत्रकार सम्मेलन गर्दै धेरै भीडभाड नगर्न र अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन नागरिकलाई आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस