नेपालमा कोरोना संक्रमित १६ जना आईसीयूमा बस्नै परेन, आइसोलेसन वार्डबाटै डिस्चार्ज हुँदै

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले अहिलेसम्म एक लाख ३० हजार बढीको मृत्यु भइसकेको छ । संक्रमितको संख्या पनि तीव्र दरले बढिरहेको छ । बिहीबार बेलुकासम्म संक्रमितको संख्या २१ लाख पुग्ने अनुमान गरिएको छ ।
कोरोना भाइरस लागेकामध्ये करिब ५० हजारको अवस्था निकै गम्भीर छ । कोरोना संक्रमित सयजनामध्ये ८० घरमै बसेर निको हुन सक्ने, १५ जनालाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने र पाँचजनालाई आईसीयूमा भर्ना गरी उपचार गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

नेपालमा अहिलेसम्म १६ जना कोरोना संक्रमित देखिइसकेका छन् । जसमध्ये एकजना निको भएर फर्किसकेका छन् । अहिले १५ जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूको भनाइ छ । उनीहरू आफैं खाना पकाएर खान सक्ने, बोल्न सक्ने अवस्थामा रहेका छन् ।

जसमध्ये सरुवा रोग ट्रपिकल अस्पताल टेकुमा दुईजना कोरोना संक्रमित आइसोलेसनमा राखेर उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अस्पतालका अनुसार बिहीबारको परीक्षणमा दुवैको रिपोर्ट नेगेटिभ आएमा उनीहरूलाई डिस्चार्ज गरिनेछ ।

संसारभर महामारीको रूप लिएको कोरोना संक्रमित नेपालीहरूको अवस्था सामान्य हुनु, आईसियूमा भर्ना गर्न नपर्नु, आइसोलेसनमै उपचार गरेर डिस्चार्ज गरिने अवस्था हुनु भनेको निकै सन्तोषजनक रहेको डा.रवीन्द्र पाण्डे बताउँछन् । यस्तो हुनु भनेको नेपालमा कोरोना भाइरस महामारीको रूपमा फैलिन नसक्ने संकेत देखिएको उनको भनाइ छ । यो खबर क्यानाडानेपालमा छ

प्रतिक्रिया दिनुहोस