कोरोना भ्याक्सिनको उत्पादन नै सुरु, चीन र भारतसहित ७ वटा कम्पनीमा उत्पादन हुँदै

काठमाडौं। कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको उत्पादन नै सुरु भएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनोलोजी डिपार्टमेन्टकी प्रोफेसर सारा गिल्बर्टले शुक्रबार एक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएकी हुन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रोफेसर गिल्बर्टले यो भ्याक्सिनको प्रभावकारिता सेप्टेम्बरसम्म पूर्ण रुपमा प्रमाणित हुने र त्यसपछि सबैको प्रयोगका लागि बजारमा ल्याउन सकिने जानकारी दिएको ब्लुमबर्गको रिपोर्टमा जनाइएको छ ।

उनका अनुसार सेप्टेम्बरमा यो भ्याक्सिन प्रमाणित हुँदासम्म पर्खेर त्यसपछि उत्पादन सुरु गर्दा पर्याप्त उत्पादन गर्न समय लाग्ने भएकोले अहिले भ्याक्सिन परीक्षणको क्रममै रहेका बेला यसको उत्पादन पनि सुरु गरिसकिएको छ । प्रोफेसर गिल्बर्टका अनुसार यो भ्याक्सिनको १२ परीक्षण भइसकेको छ । पहिलो डोजबाटै यो भ्याक्सिन प्रभावकारी हुने देखिएको र निकै सकारात्मक परिणाम आएको उनले बताइन् । उनले अहिल्यैबाट उत्पादन सुरु गरिएको र यो भ्याक्सिनको सेप्टेम्बरमा क्लिनिकल ट्रायल पूरा हुँदासम्म १० लाख डोज तयार भइसक्ने बताइन् ।

अक्सफोर्ड विश्व्विद्यालयको यो टिम यो भ्याक्सिन पूर्ण रुपमा सफल हुनेमा यतिसम्म आत्मविश्वासले भरिएको छ कि उनीहरुले अहिल्यै उत्पादन सुरु गरेका छन् ताकि क्लिनिकल ट्रायल पूरा भएर यो भ्याक्सिन प्रभावकारी भएको प्रमाणित हुँदासम्म भ्याक्सिन उत्पादन भइसकेर बजारमा ल्याउनको लागि तयारी अवस्थामा होस् । विश्वविद्यालयका अर्का प्रोफेसर एड्रियन हिलले पनि आफूहरु निकै विश्वस्त रहेको बताए । उनले आफूहरु क्लिनिकल ट्रायल पूरा हुने समय सेप्टेम्बरसम्म प्रतिक्षा गर्न नचाहेको बताए ।

प्रोफेसर हिलका अनुसार उनीहरुले ठूलो जोखिम उठाउँदै उत्पादन सुरु गरेका हुन् किनकि यदि क्लिनिकल ट्रायलमा यो भ्याक्सिन प्रभावकारी नदेखिएमा उत्पादन गरिएका सबै भ्याक्स्नि नष्ट गर्नुपर्ने हुन्छ । तर, यो टिम क्लिनिकल ट्रायल सफल हुनेमा विश्वस्त भएकोले नै उत्पादन सुरु गर्ने जोखिम उठाएको उनले बताए । प्रोफेसर हिलका अनुसार विश्वका विभिन्न देशमा रहेका ७ उत्पादक कम्पनहिरुमा यो भ्याक्सिनको उत्पादन भइरहेको छ ।

यसरी उत्पादन गरिरहेका कम्पनीहरुमध्ये एउटा भारतमा छ । प्रोफेसर हिलका अनुसार उत्पादन गरिरहेका कम्पनीहरुमध्ये ती बेलायतमा, दुई युरोपमा, एउटा चीनमा र एउटा भारतमा छन् । उनले यही वर्षको सेप्टेम्बरमा वा अत्यन्तै ढिलो भए पनि वर्षको अन्त्यसम्म १ मिलियन डोज उपलब्ध भइसक्ने विश्वास व्यक्त गरेका छन् । तीन चरणको ट्रायलको सुरुवात ५१० स्वयंसेवकसँग सुरु भइसकेको छ । तेस्रो चरणसम्म ५ हजार स्वयंसेवी ट्रायलमा सहभागी हुने अपेक्षा गरिएको छ । यो भ्याक्सिनको उत्पादन गर्ने टिमलाई बेलायत सरकारको नेशनल इन्ष्टिच्युट फर हेल्थ रिसर्च र द युके रिसर्च एण्ड इनोभेसनले २.२ मिलियन पाउण्ड (३३ करोड ६५ लाख नेपाली रुपैयाँ) अनुदान दिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस