प्रधानमन्त्री ओलीले सजिलै नसुल्झिने विवादमा नेपाललाई फसाएः भारतीय पूर्वमन्त्री करण सिंह

काठमाडौं, असार १ । भारतका पूर्वमन्त्री एवं कंग्रेस आईका नेता करण सिंहले नेपालका प्रधानमन्त्री केपी ओलीले सजिलै नसुल्झिने विवादमा नेपाललाई फसाएको भन्दै नयाँ नक्शा प्रकाशित गर्ने निर्णयले नेपाललाई हित नगर्ने बताएका छन् ।

यद्यपि, यो स्थिति नेपालले गरेको बारम्बारको आग्रहलाई भारतले अटेर गर्दा उब्जेको टिप्पणी नेपालसँग पारिवारिक नातासमेत रहेका सिंहले गरेका हुन् ।

भारतले आफ्नो दाबी गर्दै आएका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले जारी गरेको नयाँ नक्शा र त्यसलाई निसान छापमा समेट्न गरिएको संविधान संशोधनको निर्णयले नेपाललाई आगामी दिनमा फाइदा नगर्ने सिंहले बताए ।

सिंहले एक विज्ञप्ति निकाली भनेका छन्, ‘यसको असर भारतमा जेजस्तो होला, नहोला तर यसको परिणाम सुन्दर देशका नेपाली जनताको पक्षमा नहुनेमा मलाई चिन्ता छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीच सयौँ वर्षदेखिको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा राजनीतिक सम्बन्धलाई बिर्सेर सजिलै नसुल्झने विवादतर्फ धकेलेको उनले उल्लेख गरेका छन् । दुई देशबीच अहिले देखिएको परिस्थिति आउन दिनै नहुने भन्दै उनले विवाद हुँदाहुँदै पनि समाधानका लागि भारतका तर्फबाट पहल नभएको पनि जनाएका छन् ।

यो दुबै देशको कूटनीतिक असफलता भएको औल्याउँदै सिंहले लेखेका छन्, ‘यदि म सत्य छु भने नेपालले गत नोभेम्बरमै यो विषय उठाएको थियो । तर हामीले यो विषयलाई गम्भीरतापूर्वक लिएनौँ । हामीले तत्कालै विदेश सचिवस्तरमा वार्ता सुरु गरेको भए हुन्थ्यो वा आवश्यक परेको भए परराष्ट्रमन्त्रीस्तर वा प्रधानमन्त्रीस्तरमा वार्ता गरेको भए हुन्थ्यो । दुई देशबीचको कूटनीतिक असफलताको परिणाम आज यसरी देखिएको छ ।’

सिंह ०६२/६३ को जनआन्दोलनका बेला तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको विशेष दूत बनेर राजालाई भेट्नसमेत आएका थिए ।

प्रतिक्रिया दिनुहोस