एकै पालिकामा २७३ सङ्क्रमित भेटिएपछि….

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ ।

बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका २७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्मको लागि सो गाउँपालिका सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो गाउँपालिकामा ७२ घण्टासम्म अत्ति आवश्यक र आकस्मिकबाहेकका सबै थोक निषेध गरिएको जनाएको छ ।

यसैबीच महोत्तरीमा अहिलेसम्म कूल ५०८ जना कोरोना पोजेटिभ भएको जनाइएको छ ।

यस्तै गरि हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ ।

कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए ।

उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिए ।

मनाङ्ग जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाएको छ ।

यसअगाडी ७३ जिल्लामा देखिएको कोरोना संक्रमण मनाङ्ग जिल्ला थपिएपछि ७४ जिल्ला पुगेको छ । अब रसुवा ओखलढुंगा र मुस्ताङ्ग जिल्लामात्रै कोरोना नभेटिएका जिल्ला हुन पुगेका छन् ।

गण्डकी प्रदेशमा हालसम्म २ सय ९४ जना कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशको मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ ।

अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ८४, बागलुङमा ४१, पर्वतमा ३४, गोर्खामा ३६, तनहुँमा २३, कास्कीमा सात, म्याग्दीमा तीन र लमजुङ र मनाङमा एक/जना सङ्क्रमित छन् । कूल सङ्क्रमित मध्यमा १५ जना महिला छन् । सङ्क्रमितमध्ये २२ जना विभिन्न अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ । प्रदेशमा हालसम्म ८ हजार ४ सय ४३ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन(स्वाब) लिइएको छ ।

प्रतिक्रिया दिनुहोस