पेशावरः अज्ञात आक्रमणकारीहरूले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा एक वरिष्ठ पत्रकार, खलिल जिब्रानलाई गोली हानी हत्या गरेका छन् । पुलिस अधिकारी अनुसार तीन दिने ईद अल—अधाको छुट्टीको समयमा उनको हत्या गरिएको थियो ।
अफगानिस्तानको सिमाना जोडिएको उत्तरपश्चिमी पाकिस्तानी प्रान्तमा हालैका दिनहरुमा प्रहरी, सुरक्षा बल र पोलियो अभियान खोप टोलीहरूमाथि धेरै आक्रमणहरू भएका छन्।
केपीको खैबर आदिवासी जिल्लामा रहेको लण्डी कोटल प्रेस क्लबका पूर्व अध्यक्ष जिब्रानलाई जिल्ला सदरमुकाम लन्डी कोटलमा रहेको आफ्नो घर जाँदै गर्दा संदिग्धहरूले आक्रमण गरेका थिए।
प्रहरीले घटनास्थलमा एम४ र एके४७ राइफले का गोलीहरू फेला पारेको थियो ।
पाकिस्तानी तालिबान वा तेहरिक—ए—तालिबान पाकिस्तानले ईद अल—अधाको अवसरमा जुन १७ देखि जुन १९ सम्म इस्लामाबादमा सरकारसँग तीन दिने युद्धविराम घोषणा गरेको केही दिनपछि यो घटना भएको हो।
केपीका मुख्यमन्त्री अली अमीन गण्डापुरले जिब्रानको हत्याको भत्र्सना गर्दै मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको उनको कार्यालयले जनाएको छ ।
‘प्रहरीलाई शंकास्पद व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न आवश्यक निर्देशन दिएको छ’ । उनले भने।
जिब्रानको हत्याको विरोधमा पत्रकार संघले बिहीबार प्रदेशका सबै आदिवासी जिल्लामा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
यसैगरी, उत्तरी वजिरिस्तान आदिवासी जिल्लाको मीर अली क्षेत्रमा तीनवटा शवहरू फेला परेका थिए, जबकि गत हप्ता दक्षिण वजिरिस्तान जिल्लामा गोलीबारीमा घाइते भएका एक धार्मिक पार्टी नेताको मंगलबार मृत्यु भएको थियो ।
टीटीपीले नोभेम्बर २०२२ मा सरकारसँगको आफ्नो युद्धविराम रद्द गरेपछि पाकिस्तानले आफ्ना दुई पश्चिमी प्रान्त, केपी र बलुचिस्तानमा उग्रवादी हिंसामा वृद्धि भएको देखेको छ।
इस्लामावादले छिमेकी अफगानिस्तानबाट सक्रिय लडाकूहरूलाई हिंसामा वृद्धि भएको आरोप लगाएको छ। काबुलले उक्त आरोप अस्वीकार गर्दै पाकिस्तानमा बढ्दो हिंसा इस्लामाबादको घरेलु मुद्दा भएको बताएको छ।