नयाँ दिल्ली— भारतको प्रोडक्शन लिङ्क्ड इन्सेन्टिभ (पीएलआई) योजनामा मेक इन इन्डिया पहल अन्र्तगत भारतमा एप्पलको प्रमुख उत्पादन आईफोनको विश्वव्यापी उत्पादनको दर २०२५ सम्ममा २५ प्रतिशत पुग्ने ग्लोबल इन्भेष्टमेन्ट फर्म जेफरीजको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । यो दर २०१७ मा १ प्रतिशत भन्दा कम रहेको थियो । तर, वार्षिक वृद्धिसँगै २०२३ सम्म आईपुग्दा १० प्रतिशतमा पुगेको थियो ।
जेफरीजले आफ्नो प्रतिवेदनमा भारतमा अमेरिकी टेक कम्पनीको मोबाइल फोनको स्थानीय उत्पादनमा भएको बृद्धिलाई प्रोडक्शन लिङ्क्ड इन्सेन्टिभ (पीएलआई) योजना र विश्वव्यापी आपूर्ति श्रृंखला विविधीकरणले साथ दिईरहेको बताएको छ ।
सेप्टेम्बर ९ मा भएको ग्लोबल लन्च पछि एप्पलले नयाँ आईफोन १६ प्रो र प्रो म्याक्स मोडलहरू भारतमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ, जबकि कम्पनीले आईफोन १६ प्रो र १६ प्रोको ‘मेक इन इन्डिया’ संस्करणहरू प्रस्ताव गर्ने योजना बनाएको छ।
एप्पलले चीनबाट टाढा आफ्नो उत्पादनलाई विविधीकरण गर्ने योजनाको रूपमा भारतमा ५० मिलियन भन्दा बढी आईफोनहरूको वार्षिक उत्पादनको लक्ष्य राखेको छ।
भारतबाट आईफोन निर्यात २०२३—२४ मा १२ दशमलव १ बिलियन डलर पुगेको छ, जुन २०२२—२३ मा ६ दशमलव २७ बिलियन पुगेको थियो ।
नयाँ आईफोन १६ सिरिजको सुरुवातसँगै भारतमा एप्पलको बृद्धिले गति लिने विशेषज्ञहरूले अनुमान गरेका छन्।
यो विस्तार ‘मेक इन इण्डिया’ पहल अन्तर्गत बढेको स्थानीय उत्पादन र आक्रामक मार्केटिङ रणनीतिहरूद्वारा प्रेरित हुने अपेक्षा गरिएको छ।