इस्लामावाद— पाकिस्तानका १६ जिल्लामा पोलियो भाइरसका संक्रमित फेला परेका छन् ।
पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थानको पोलियो उन्मूलनका लागि क्षेत्रीय प्रयोगशालाले १६ जिल्लाको ढलको नमूनामा पोलियो भाइरस टाइप १ (डब्लुपीभी१) भेटिएको पुष्टि गरेको छ ।
नमूनाहरू फेरि इस्लामाबाद, लाहोर, पेशावर, कराँचीका तीन जिल्ला चमन, शहीद बेनजिराबाद, बदिन, सुक्कर, हैदरावाद, सुजावल, दादु, कम्बर, ज्याकोबाबाद र डेरा गाजी खानबाट संकलन गरिएको थियो। यी सबै जिल्लाहरूले पहिले भाइरस पत्ता लागेको थियो भने पुनः परिक्षण गर्दा पनि भाइरस फेला परेको छ ।
पोलियो भाइरसको रोकथाम गर्न खोप अभियान सञ्चालन गरिएको छ । यस अभियान अन्र्तगत पाँच वर्ष मुनिका ४ करोड ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो । पाकिस्तानमा सन् २०२४ मा पुष्टि भएका पोलियोका घटनाहरूको संख्या ४१ पुगेको छ।
विश्व पोलियो दिवसको अवसरमा प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सेहबाज सरिफले अभियानको उद्घाटन गरेका थिए । यस अभियान अन्र्तगत बालबालिकालाई पोलियो खोपसँगै भिटामिन ‘ए’ पनि खुवाइएको थियो ।
पोलियो उन्मूलनका लागि प्रधानमन्त्रीका विशेष दूत आयशा रजा फारुकले स्वास्थ्यकर्मीहरू खोप लगाउन देशका हरेक कुनामा पुग्ने दाबी गरेकी थिइन् ।
पाकिस्तानको ४१ पोलियो संक्रमित मध्ये बलुचिस्तान प्रान्तमा मात्र २१ पोलियो संक्रमित भेटिएका थिए । यस प्रान्तमा सरकारले विशेष निगरानीका साथ खोप अभियान सञ्चालन गर्ने बताएको थियो ।
खोप अभियान २९ अक्टोबर देखि नोबेम्बर ३ तारिख सम्म सञ्चालन गरिएको थियो ।