बेइजिङ—चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले जुलाई २०२४ को प्लेनरी सेसनपछि आफ्नो सैन्य सफाइ अभियानलाई तीव्र बनाउँदै जाँदा गम्भीर अवरोध र प्रतिरोधको सामना गरिरहेको छ। आन्तरिक प्रतिवेदनहरूमा दुई प्रमुख घटनाहरूको सार्वजनिक गरिएको छ ।
अगस्ट महिनामा, सेन्ट्रल थिएटर कमाण्डका कर्नल लूले दुई अनुसन्धानकर्ताको हत्या गरेर आफूलाई पनि गोली हाने। सेप्टेम्बरमा, साउदर्न थिएटर कमाण्डका एक वरिष्ठ कर्नलले चार अनुसन्धानकर्तालाई मारे र त्यसपछि गार्डहरूले उनलाई गोली हाने। यी घटनापछि सीसीपीले अनुसन्धानकर्ताहरूलाई उच्च जोखिमका अनुसन्धानहरूमा बुलेटप्रूफ ज्याकेट लगाउन आन्तरिक निर्देशन दिएको छ।
सफाइ अभियानले सीसीपी अधिकारीहरूबीच शी जिनपिङप्रति गहिरो असन्तोषलाई उजागर गरेको छ। धेरै अधिकारीहरू आफूहरूलाई भ्रष्टाचारको कारण होइन, तर प्रभावशाली सम्बन्धको अभावले लक्ष्य बनाइएको ठान्छन्। यस प्रकारको अन्यायको भावनाले हिंसात्मक प्रतिरोधलाई बढावा दिएको छ, जसमा केही अधिकारीहरूले जेल जानु भन्दा झगडामा मर्नु उचित ठानेका छन्। सफाइ अभियानले रक्षा मन्त्री डङ जुन र रकेट फोर्स कमाण्डर वाङ होबिन सहित धेरै उच्च पदस्थ अधिकारीहरूलाई समेटेको छ। त्यस्तै, सैन्य उपकरण विभागको नेतृत्व र सैन्य—औद्योगिक क्षेत्रका १०० भन्दा बढी वरिष्ठ अधिकारीहरू पनि अनुसन्धानको घेरामा परेका छन्।
सीसीपी भित्रको भ्रष्टाचार अझ परिष्कृत हुँदै गएको छ, जहाँ वरिष्ठ अधिकारीहरूले घूस लिन र सम्पत्ति विदेश लैजान क्रिप्टोकरेन्सी वालेट प्रयोग गर्न थालेका छन्। यसले पारम्परिक भ्रष्टाचार विरोधी उपायहरूलाई छल्न सहयोग पुर्याएको छ। यस्तो प्रवृत्तिले सीसीपीको भ्रष्टाचार विरुद्धको प्रयासलाई कठिन बनाएको छ, किनभने अधिकारीहरूले छायाँ बैंकिङ र विकेन्द्रीकृत वित्तजस्ता वित्तीय नवीनतालाई अवैध लेनदेनका लागि प्रयोग गरेका छन्। उदाहरणस्वरूप, साउदर्न थिएटर कमाण्डका वरिष्ठ कर्नलले क्रिप्टोकरेन्सीमार्फत विदेशमा सम्पत्ति स्थानान्तरण गरेका थिए, जसले उनलाई हिंसात्मक रूपमा अनुसन्धानको प्रतिरोध गर्न प्रोत्साहित गर्यो।
यी घटनाक्रमहरूले सीसीपी भित्रको बढ्दो अस्थिरतालाई प्रकट गर्छन्। अवकाश प्राप्त जनरल लू युआनबाट प्राप्त गोप्यपत्रले सैन्य र अधिकारीहरूबीच व्यापक असन्तोष र निराशालाई राजनीतिक संकटको संकेत दिएको थियो। पत्रले धेरै अधिकारीहरूले गहिरो भ्रष्ट प्रणालीको सामना गर्न हिंसात्मक प्रतिरोधलाई आफ्नो एकमात्र उपायका रूपमा हेर्ने गरेको खुलासा गरेको छ। यसैबीच, जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्सका प्रमुख यु जियानहुआले अनुसन्धानका लागि बोलाइएपछि आत्महत्या गरेको भनिएको छ, यद्यपि सीसीपीले उनको मृत्युको कारणलाई अचानक बिरामी परेको बताएको छ ।
सीसीपीको सैन्य सफाइ अभियान जारी रहेसँगै पार्टीले आफ्नो सैन्य र राजनीतिक संरचनाभित्र नियन्त्रण र स्थिरता कायम गर्न चुनौतीहरूको सामना गरिरहेको छ। हिंसाको प्रयोग र आधुनिक भ्रष्टाचारका विधिहरूले सीसीपीको प्रभावकारी शासन क्षमतामा खडा भएका गहिरा समस्या उजागर गरेको छ, जसले शक्ति, भ्रष्टाचार र प्रतिरोधका जटिल पक्षहरूलाई झल्काउँछ।