भारतमा ब्रान्डेड होटलहरूको आम्दानी दोहोरो अंकले वृद्धि हुने प्रक्षेपण

 

नयाँ दिल्ली— भारतका ब्रान्डेड होटलहरूले यस आर्थिक वर्ष र आगामी वर्षमा दोहोरो अंकको आम्दानीमा वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

क्रिसिल रेटिङ्सको अध्ययन अनुसार, माग आपूर्तिभन्दा बढी भएकाले आम्दानी यो वर्ष १३—१४ प्रतिशत र अर्को वर्ष ११—१२ प्रतिशत ले बढ्ने प्रक्षेपण गरिएको छ।

छुट्टी र व्यवसायिक यात्रा होटल उद्योगको प्रमुख माग स्रोत बनेको छ। साथसाथै, माइस(भेटघाट, प्रेरणा, सम्मेलन र प्रदर्शनी) सेग्मेन्टको मागमा वृद्धि र विदेशी पर्यटकहरूको आगमनले यस क्षेत्रलाई थप बल दिएको छ। गत वर्ष मात्र, ब्रान्डेड होटलहरूको राजस्व १७ प्रतिशतले वृद्धि भएको थियो।

बढ्दो माग पूरा गर्न, होटलहरूको कोठा संख्यामा पनि वृद्धि भइरहेको छ। गत वर्षबाट सुरु भएको विस्तार गतिलाई निरन्तरता दिँदै यस आर्थिक वर्ष र अर्को वर्ष २० प्रतिशत को समग्र वृद्धि हुने अपेक्षा छ।

होटलहरूको अपरेसिङ मार्जिन यस वर्ष १००—१५० आधार बिन्दुले सुधार हुने अनुमान छ। ब्रान्डेड होटलहरूको औसत कोठा भाडा यस वर्ष ६—७ प्रतिशतले बढ्नेछ। तर, ठूलो संख्यामा नयाँ कोठाहरू थपिने भएकाले अर्को वर्ष वृद्धि ३—४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ।

होटल उद्योग विस्तारै मेट्रो क्षेत्रहरूबाट बाहिर गैर—मेट्रो र धार्मिक पर्यटन गन्तव्यतर्फ केन्द्रित भइरहेको छ। यस विस्तारको ६५ प्रतिशत हिस्सा विदामा घुम्ने संस्कृति र धार्मिक क्षेत्रको लागि हुनेछ भने बाँकी २५प्रतिशत हिस्सा प्रमुख मेट्रो क्षेत्रहरूले ओगट्नेछ।

भारत सरकारको ‘मीट इन इन्डिया’ पहलले व्यवसायिक कार्यक्रमहरूको आयोजना बढाउनेछ।

क्रिसिलका वरिष्ठ निर्देशक मोहित माखिजाका अनुसार विदेशी पर्यटकहरूको आगमनले महामारीपूर्वको स्तरलाई पार गर्ने सम्भावना छ। बढ्दो यात्रा आकांक्षा र क्षेत्रीय यातायातको सुधारले घरेलु विदामा घुम्ने संस्कृतिले टेवा दिनेछ ।

बढ्दो माग, नयाँ कोठाको आपूर्ति, र गैर—मेट्रो क्षेत्रमा विस्तारले भारतीय होटल उद्योगको उज्ज्वल भविष्य सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। यात्रुहरूका लागि बढी विकल्प उपलब्ध गराउन पूर्वाधार सुधारलाई पनि प्राथमिकता दिइएको छ।

प्रतिक्रिया दिनुहोस