भक्तपुर- नीजि क्षेत्रले कृषिमा लगानी गरेर देशको आर्थिक समृद्धिमा टेवा पुर्याउन सरोकारवालाले आग्रह गरेका छन् । सरकार र नीजिक्षेत्रको समन्वयमा मात्रै देश आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उद्योगी व्यवसायीले बताएका हुन् ।
भक्तपुर उद्योग वाणिज्य संघको भक्तपुरमा सम्पन्न ३७औं वार्षिक साधारणसभामा सहभागि व्यवसायिहरुले नीजि क्षेत्र जागरुक बनेमात्र युवाहरु विदेशीनबाट जोगिनेमा जोड दिएका हुन् ।
साधारण सभाको उद्घाटन गर्नुहुदै नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं सांसद प्रेम सुवालले कृषि प्रधान देशमा चामल विदेशबाट आयात गरिनु दुखद भएको भन्दै नीजिक्षेत्र र सरकारले यसैलाई प्राथमिकता दिएर जानु पर्ने बताउँनु भयो ।
सभामा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँं धौबञ्जाले आर्थिक विकासको प्रमुख आधारमध्येको एक कृषिको व्यवसायिक विकासमा जोड दिन सबै व्यवसायीलाई आग्रह गर्नुभयो ।
कृषियोग्य जमिनहरुको संरक्षणमा स्थानीय पालिका जुट्नु पर्ने र उद्योगी व्यवसायीले सहयोग गर्नु पर्ने नीजि क्षेत्रको जोड छ ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धर, सल्लाहकार कष्णप्रसाद ताम्राकार, कर अधिकृत लगायतले सम्बोधन गर्नुहुदै मुलुकको आर्थिक उन्नतिका लागि उद्योगी व्यवसायीले विशेष जोड दिनु पर्ने धारणा राख्नु भयो ।