चिनियाँ ह्याकरहरूद्वारा अमेरिकी टेलिकम कम्पनीहरूमा आक्रमण, सरकारी अधिकारीहरूलाई सतर्कता अपनाउन निर्देशन

 

वास्टिन— अमेरिकी सरकारले वरिष्ठ अधिकारीहरू र राजनीतिज्ञहरूलाई असुरक्षित फोन कल र मेसेज प्रयोग नगर्न चेतावनी दिएको छ।

यस चेतावनीले चिनियाँ सरकार समर्थित भनिएको ‘साल्ट टाइफून’ ह्याकर समूहद्वारा अमेरिकी टेलिकम कम्पनीहरूमा गरिएको साइबर आक्रमणको पृष्ठभूमि जोडिएको छ। यो समूहले आठवटा प्रमुख टेलिकम कम्पनीहरू ह्याक गरी ठूलो मात्रामा अमेरिकी नागरिकहरूको मेटाडाटा चोरेको दाबी गरिएको छ। चीनले भने यी आरोप अस्वीकार गरेको छ।

साइबरसुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सीले इनक्रिप्टेड सञ्चारको महत्व औंल्याउँदै वरिष्ठ सरकारी अधिकारीहरूलाई वाट्सएप, आईमेसेज जस्ता प्लेटफर्महरूको प्रयोग गर्न सिफारिस गरेको छ।

यस्ता प्लेटफर्महरूले डेटा सुरक्षित राख्न मद्दत गर्ने हुँदा, साधारण फोन कल र एसएमएसको तुलनामा सुरक्षित हुने बताइएको छ। साधारण सञ्चार माध्यमहरू इनक्रिप्टेड नभएकाले, ह्याकरहरू, फोन कम्पनीहरू, वा अन्य अनधिकृत पक्षद्वारा सजिलै अनुगमन गर्न सकिन्छ।

‘साल्ट टाइफून’ समूहद्वारा भएको आक्रमणलाई अमेरिकी संरचनामाथिको व्यापक साइबर आक्रमणको एउटा भाग मानिएको छ। यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो टेलिकम ह्याक हुने अनुमान गरिएको छ।

साइबरसुरक्षाका थप सिफारिसहरूमा बैंकहरूद्वारा पठाइने एकपटकका पासवर्डहरू एसएमएसबाट प्रयोग नगर्नु र फिशिङ आक्रमण रोक्न हार्डवेयर कीको प्रयोग गर्नु समावेश छ। विशेषज्ञहरूले यस्ता उपायहरूले केवल चिनियाँ ह्याकरहरू मात्र नभई अन्य साइबर आक्रमणकर्ताहरूलाई पनि रोकेर सुरक्षित वातावरण निर्माण गर्न मद्दत गर्ने बताएका छन्।

अमेरिकी अधिकारीहरूले साइबर सुरक्षा बलियो बनाउन तथा भविष्यमा हुने सम्भावित आक्रमणहरू रोक्न कडा रणनीति अपनाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस