काठमाडौँ- विपक्षी राजनीतिक दलहरुले तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गरेका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा शुक्रबार बसेको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,नेकपा एकीकृत समाजबादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी लगायतका छ विपक्षी दलहरूको बैठकले यथाशीघ्र संसदको हिउँदे अधिवेशन बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकका निर्णय सुनाउँदै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गरिएको जानकारी गराउनु भयो ।
”संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा संघर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौ,” बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ ।
दुई दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर सत्ता टिकाउन भन्दा पनि सत्ता सफल बनाउन अध्यादेश ल्याउनु परेको र यथोचित समयमा सदन बोलाइने जानकारी गराउनु भएको थियो ।