ओटावाः क्यानडाको समावेशी र पहुँचयोग्य भनेर प्रशंसा गरिँदै आएको आप्रवासन प्रणाली हाल संकटमा छ। हालैको ग्लोब एण्ड मेल रिपोर्ट अनुसार लगभग ५० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू हराएका छन्। यी विद्यार्थीहरूले क्यानडाका क्याम्पसहरूमा सांस्कृतिक र शैक्षिक विविधता ल्याउने अपेक्षा गरिएको थियो, तर अहिले तिनीहरू गैरजिम्मेवार प्रणालीको प्रतीक बनेका छन्।
यो समस्याले क्यानडाले आफ्नो अन्तर्राष्ट्रिय विद्यार्थी कार्यक्रम प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने क्षमतामा प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूले तिर्ने उच्च शुल्कबाट शैक्षिक संस्थाहरूले आर्थिक लाभ लिन्छन्, तर ती विद्यार्थीहरूले कक्षामा सहभागी भए—नभएको निगरानी गर्ने प्रणाली कमजोर रहेको देखिन्छ। आलोचकहरूका अनुसार, यसले केही विश्वविद्यालय र कलेजहरूलाई मुनाफाका लागि भिसा दिने कारखानामा रूपान्तरण गरेको छ।
हराएकामध्ये झण्डै २० हजार विद्यार्थी भारतका छन्, र रवाण्डाबाट आएका ५० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी गायब भएका छन्। विद्यार्थी हराउने कारणहरू फरक हुन सक्छन्, जस्तै– केहीले अनुमति बिना श्रम बजारमा प्रवेश गरेको हुन सक्छ, अन्यले अमेरिका छिरेको हुन सक्छन्, या प्रणालीको कमजोरीका कारण हराएका हुन सक्छन्। यस समस्याको समाधान गर्न क्यानडाको रोयल क्यानेडियन माउन्टेड पुलिसले भारतलगायत अन्य देशहरूसँग सम्पर्क गरेको छ, तर यो प्रयास कत्तिको प्रभावकारी छ भन्ने प्रष्ट छैन।
इमिग्रेसन मन्त्री मार्क मिलरले विश्वविद्यालयहरूलाई अनुपालन रिपोर्ट नपठाउने संस्थाहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार गुमाउन सक्ने चेतावनी दिएका छन्।
यो समस्याले आप्रवासन क्षेत्रभन्दा पर सामाजिक क्षेत्रमा समेत प्रभाव पारेको छ। कक्षामा नजाने धेरै विद्यार्थीहरूको आगमनले भाडा बढाएको, स्वास्थ्य सेवा प्रणालीमा दबाब थपेको, र सामाजिक संरचनामा असर पुर्याएको छ। कतिपय क्यानडालीहरूले यसलाई प्रधानमन्त्री जस्टिन ट्रुडोको प्रशासनको ठूलो प्रशासनिक कमजोरीको रूपमा लिएका छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्ने संस्थाहरूलाई कडा मापदण्डमा बाँधिनु पर्छ। यी विद्यार्थीहरूले कक्षामा उपस्थित भई भिसाका सर्तहरू पालना गरेका छन् भनेर सुनिश्चित गर्न शिक्षा र आप्रवासन निकायहरू तथा विदेशी सरकारहरूबीच सहकार्य आवश्यक छ।
यसबीच, सामान्य क्यानाडाली नागरिकले यो संकटको असर खेप्नुपरेको छ। उच्च जीवनयापन खर्च र सेवा सुविधामा पहुँचको कमी यसका केही प्रभाव हुन्। प्रगतिशील नीतिहरूको समर्थन गर्ने सरकारका लागि यो परिस्थिति ठूला विरोधाभास झल्काउने समस्या बनेको छ, जसलाई तत्काल सुधार र पारदर्शी समाधानको खाँचो छ।
(डा जननीत बेदीले खाल्सा भक्समा लेखेको लेखको भावानुवाद अनुवाद– सं)*