भारत र इन्डोनेसियाबीच ३,८०० करोड भारतीय रुपैयाँको ब्रह्मोस मिसाइल सम्झौता अन्तिम चरणमा

 

नयाँ दिल्ली— भारतले आफ्नो रक्षा निर्यात क्षमतालाई थप मजबुत बनाउँदै इन्डोनेसियालाई ३,८०० करोड भारतीय रुपैयाँ (४५० मिलियन अमेरिकी डलर) को ब्रह्मोस मिसाइल बिक्री गर्ने सम्झौता लगभग अन्तिम चरणमा पुगेको छ। न्यूज—१८ ले यो यो सम्झौता भएको पुष्टि गरेको छ भने सीएनबीसी —टीभी१८ ले उच्च सरकारी स्रोतहरूलाई उद्दृत गर्दै सम्झौतामा केही समय लाग्न सक्ने बताइएको छ।

यो सम्झौता भारतको रक्षा उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा उचाइ दिने अर्को महत्वपूर्ण कदम हो। यसअघि भारतले फिलिपिन्सलाई पनि ब्रह्मोस मिसाइल बिक्री गर्ने सम्झौता गरेको थियो। ब्रह्मोस मिसाइल, जुन ब्रह्मोस एरोस्पेसद्वारा गरिएको सुपरसोनिक क्रूज मिसाइल हो । यो मिसाइलले इन्डोनेसियाको सैन्य क्षमतालाई मजबुत बनाउनेछ र दुबै राष्ट्रबीचको रक्षा सहकार्यलाई सुदृढ गर्नेछ।

भारतको गणतन्त्र दिवस समारोहमा विशेष अतिथि रहेका इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तो आइतबार भारतस्थित ब्रह्मोस एरोस्पेसको मुख्यालयमा पुगेका थिए। उनीसँगै इन्डोनेसियाली नौसेनाका प्रमुख एडमिरल मुहम्मद अली सहित उच्चस्तरीय प्रतिनिधिमण्डल पनि सहभागी थियो। भ्रमणका क्रममा राष्ट्रपतिले ब्रह्मोस मिसाइल प्रणालीको उन्नत प्रविधिहरूको अवलोकन गरे।

इन्डोनेसियाली अधिकारीहरूलाई मिसाइलको गति, दायरा, र यसको बहुउद्देश्यीय प्रयोगबारे जानकारी दिइयो, जसमा भूमि, आकाश, र समुद्रबाट प्रक्षेपण गर्न सकिने क्षमताहरू समावेश छन्। ब्रह्मोस एरोस्पेसले सामाजिक सञ्जालमार्फत यो भ्रमणबारे जानकारी दिँदै रक्षा सहकार्यलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको बताएको छ।

ब्रह्मोस भारत र रुसको संयुक्त परियोजना हो। यो मिसाइल प्रणाली आफ्नो अतुलनीय सुपरसोनिक गतिका लागि परिचित छ, जसले २ दशमलव ८ माच ( ध्वनिको तीन गुणा गति) मा लक्ष्य भेद गर्न सक्छ। यस मिसाइलको हालको मारक क्षमता २९० किलोमिटर भए पनि नवीन संस्करणको दायरा ५०० किलोमिटरसम्म रहेको छ।

इन्डोनेसियासँगको यो सम्झौता भारतको रक्षा उद्योगका लागि अर्को महत्वपूर्ण उपलब्धि हो। यसअघि जनवरी २०२२ मा फिलिपिन्सले करीब ३७५ मिलियन अमेरिकी डलरको सम्झौता गर्दै ब्रह्मोस मिसाइल प्रणाली खरिद गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस