लन्डन – बेलायतका शीर्ष विश्वविद्यालयहरूले सन् २०२० देखि २०२४ सम्म चिनियाँ स्रोतहरूबाट ५० मिलियन पाउण्ड स्टर्लिङ भन्दा बढी अनुदान र अनुसन्धान सहयोग प्राप्त गरेको द इन्डिपेन्डेन्ट को अनुसन्धानले देखाएको छ। अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयहरूले सबैभन्दा धेरै अनुदान प्राप्त गरेका छन्, जसमा अक्सफोर्डले २४ मिलियन पाउण्ड स्टर्लिङ र क्याम्ब्रिजले १२ देखि १९ मिलियन पाउण्ड स्टर्लिङसम्म पाएको खुलासा भएको छ।
अक्सफोर्ड विश्वविद्यालयले चिनियाँ स्रोतहरूबाट आएको १ दशमलव ८ मिलियन पाउण्ड स्टर्लिङ अनुदान सिचुवान विश्वविद्यालयबाट प्राप्त गरेको थियो, जसलाई अष्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटले चीनको आणविक हतियार कार्यक्रमसँग जोडिएको भन्दै ‘अत्यधिक जोखिमयुक्त’ संस्थाका रूपमा चित्रिण गरेको छ। क्याम्ब्रिजले पनि चिनियाँ जनमुक्ति सेनासँग सम्बन्धित संस्थाहरूबाट ठूलो रकम पाएको छ ।
यद्यपि विश्वविद्यालयहरूले सबै अनुदान कडा जाँच प्रक्रियाबाट प्राप्त गरेको र सरकारी मापदण्डहरूअनुसार नै कार्य भइरहेको बताएका छन् । पूर्व कन्जरभेटिभ नेता सर इयान डन्कन स्मिथले चिनियाँ लगानीले बेलायती विश्वविद्यालयहरूमा अभिव्यक्ति स्वतन्त्रता दबाउने जोखिम बढाएको चेतावनी दिएका छन्।
एडिनबरा विश्वविद्यालयले ५ दशमलव ३ देखि ६ दशमलव २ मिलियन पाउण्ड स्टर्लिङसम्म चिनियाँ स्रोतहरूबाट प्राप्त गरेको छ भने शेफिल्ड विश्वविद्यालयले २ दशमलव ४ मिलियन पाएको छ, जसमा अमेरिकी रक्षा विभागले “कम्युनिस्ट चिनियाँ सैन्य कम्पनी” का रूपमा वर्गीकृत गरेको सीआरआरसी इष्टिच्युटबाट ३ लाख ६० हजार पाउण्ड स्टर्लिङ प्राप्त गरेको विवरण समावेश छ।
विशेषज्ञहरूका अनुसार यस्ता अन्तर्राष्ट्रिय साझेदारीहरूले अनौपचारिक रूपमा चीनको सैन्य आधुनिकीकरणलाई टेवा पुर्याउन सक्ने खतरा छ। तथापि, विश्वविद्यालयहरूले राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको र जोखिम न्यूनीकरणका लागि सरकारसँग मिलेर काम गरिरहेको बताएका छन्।