पाकिस्तानका सुधारगृहहरू क्षमता भन्दा बढी कैदी राख्न बाध्य

 

इस्लामाबाद— पाकिस्तानको सुधारगृह (जेल) को अवस्था दयनीय बनेको छ । पाकिस्तानका अधिकांश सुधारगृहमा अत्यधिक भीडभाड, कमजोर व्यवस्थापन, र अपराधीलाई सुधार गर्ने उद्देश्य असफल हुँदै गइरहेको छ।

वर्ल्ड प्रिजन ब्रीफ २०२४ अनुसार, देशभर करिब १,०८,६४३ कैदीहरू रहेका छन्, जबकि यी जेलहरूमा ६६,६२५ कैदी अट्ने क्षमता मात्र छ। सन् २००० मा ७८,९३८ कैदीहरू रहेको जेल जनसंख्या अहिले झन् बढेर संकटपूर्ण अवस्थामा पुगेको छ।

पंजाबमा यो समस्या झन् गम्भीर छ, जहाँ ४३ वटा जेलहरूमा ६७,२६६ कैदीहरू राखिएको छ, जबकि यी जेलहरूमा ३७,५६३ कैदीहरूका लागि मात्र प्रयाप्त हुने थियो । लाहोर सेन्ट्रल जेल, जसलाई सन् १९६५ मा निर्माण गरिएको थियो, मा १,०५३ कैदी अट्ने क्षमता भए तापनि अहिले ३,५३७ कैदीहरू थुनिएका छन्, जुन यसको क्षमताको तीन गुणा बढी हो। यस्तै, रावलपिण्डी सेन्ट्रल जेल, जसलाई सन् १९८६ मा बनाइएको थियो, मा १,९९४ कैदीहरू अट्ने ठाउँ भए तापनि अहिले ४,३३७ कैदीहरू राखिएका छन्। गुजरानवाला जेलमा ९१३ जनाको क्षमता भए तापनि ३,१०९ कैदीहरू थुनिएका छन्।

पाकिस्तानका पुराना जेलहरू पनि उस्तै दबाबमा छन्। फैसलाबाद जिल्ला जेल, जुन सन् १८९४ मा स्थापना गरिएको थियो, मा ८५३ कैदी अट्ने क्षमता भए तापनि अहिले २,१६२ कैदीहरू थुनिएका छन्। त्यस्तै, सियालकोट जिल्ला जेल, जुन सन् १८६३ मा बनाइएको थियो, मा ७२२ कैदीहरू अट्ने क्षमता हुँदा पनि अहिले २,१७७ कैदीहरू राखिएका छन्।

सिन्ध प्रदेशमा पनि उस्तै अवस्था छ, जहाँ १३,९३८ कैदीहरू अट्ने क्षमता भएका जेलहरूमा २४,०३८ कैदीहरू राखिएका छन्। कराँचीमा स्थिति झन् चिन्ताजनक छ। मलिर जिल्ला जेलमा २,२०० कैदी अट्ने क्षमता भए तापनि अहिले ५,९२२ कैदीहरू थुनिएका छन्। कराँची सेन्ट्रल जेल, जसलाई १८९९ मा २,४०० कैदीहरू का लागि बनाइएको थियो, अहिले ७,११४ कैदीहरू ले भरिएको छ। हैदराबाद सेन्ट्रल जेल, जुन १८९४ मा निर्माण गरिएको थियो, मा १,५२७ कैदी अट्ने ठाउँमा अहिले २,३७५ कैदीहरू थुनिएका छन्। त्यस्तै, शहीद बेनजीराबाद, बादिन, र शिकरपुर जस्ता साना जिल्लाका जेलहरू पनि उस्तै भीडभाडको समस्यामा छन्।

यी भीडभाडले कैदीहरूको स्वास्थ्य, खानपान, र सफाइमा गम्भीर असर पारेको छ। कैदीहरू मानसिक समस्याबाट पनि ग्रसित छन्, र सुधारात्मक कार्यक्रमको अभावले गर्दा धेरै कैदीहरू झन् आपराधिक गतिविधिमा संलग्न हुने जोखिममा छन्। धेरै कैदीहरू सुधारिनुको सट्टा थप अपराधिक कृयाकलापमा संलग्न भएका छन्, जसले जेलको उद्देश्यलाई नै कमजोर बनाइरहेको छ।

अझ चिन्ताजनक कुरा के छ भने, पाकिस्तानका जेलहरू सङ्गठित अपराधको केन्द्र बन्दै गएका छन्। १९८० को दशकमा, कुख्यात डाँका अली गोहरले सुक्कुर सेन्ट्रल जेलबाट अपहरण योजना बनाएका थिए। त्यस्तै, १९८६ मा भएको सुक्कुर जेलबाट ३४ जना कुख्यात अपराधीहरू भागेका थिए। २०१७ मा कराँची जेलबाट लश्कर–ए—झङ्गवी का २ जना आतंककारीहरूको फरार हुनुले जेलभित्रका कर्मचारी र बाहिरी आपराधिक नेटवर्कबीचको साँठगाँठलाई उजागर गरेको थियो। हाल पनि, कुख्यात डाँका मुनीर इन्धर, जो रहिम यार खान जिल्ला जेल मा थुनिएका छन्,ले इन्धर समूहका अपराधहरू संचालन गरिरहेका छन्। त्यस्तै, छोट्टु मजारि, जो बाहावलपुर जिल्ला जेल मा थुनिएका छन्, ले राजनपुर र रहिम यार खान जिल्लाहरूमा आपराधिक गतिविधिमा प्रभाव राखिरहेका छन्।

यी समस्याहरू समाधान गर्न व्यापक सुधार योजना आवश्यक देखिएकोछ। जेलहरूको पूर्वाधार विस्तार र कडा अपराध गर्ने कैदीहरूलाई साना अपराध गर्नेहरू र अदालतको निर्णय कुर्दै बसेका कैदीहरूबाट अलग राख्नुपर्ने आवश्यकता छ। नयाँ अपराधीहरूलाई कुख्यात अपराधीसँग मिल्न दिनु, जेलहरूलाई अपराधी उत्पादन गर्ने कारखाना बनाउने मुख्य कारण हो। गरीब र वकिल राख्न नसक्ने कैदीहरूलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउनुपर्नेछ। सरकारलाई पेशागत तालिम, सीप विकास, र शिक्षा कार्यक्रममा लगानी गर्नुपर्नेछ, जसका लागि हायर एजुकेसन कमिशनसँग सहकार्य गरेर जेलहरूमा कक्षाहरू र पुस्तकालयहरू स्थापना गर्न सकिन्छ। स्वास्थ्य सेवा सुधार गर्न थप स्वास्थ्यकर्मीहरू, आवश्यक उपकरणहरू सुनिश्चित गर्नुपर्नेछ, र स्वास्थ्य बजेटलाई विकेन्द्रीकरण गरी उपचार ढिलाइ नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ। साथै, कैदीहरूको मानसिक स्वास्थ्यका लागि मनोपरामर्श कार्यक्रमहरू पनि आवश्यक रहेको छ।

प्रतिक्रिया दिनुहोस