पाकिस्तानको क्वेटामा ५२ प्रतिशत पिउने पानी मानव उपभोगका लागि अयोग्य

 

क्वेटा— पाकिस्तानको क्वेटामा गरिएको एक अध्ययनले त्यहाँको ५२ प्रतिशत पिउने पानी अत्यधिक फ्लोराइड प्रदूषणका कारण उपभोगका लागि अयोग्य रहेको देखाएको छ। यो लुकेको विष मानवमा हड्डीसम्बन्धी रोगहरू निम्त्याइरहेको एआरआई न्यूजले उल्लेख गरेको छ।

यो अनुसन्धान बेलुचिस्तान विश्वविद्यालयका जलरसायन विभागका पीएचडी अनुसन्धानकर्ता तथा शिक्षक तैमूर शाह दुर्रानी द्वारा गरिएको हो।

उनले २०२२ देखि २०२४ को अवधिमा अत्यधिक जनघनत्व भएका क्षेत्रका कम्तीमा १०० ट्युबवेलहरूबाट पानीको नमुना संकलन गरेका थिए। अध्ययनको निष्कर्ष निकै चिन्ताजनक रहेको एआरआई न्यूजले जनाएको छ।

उत्तरपश्चिमी तथा केन्द्रीय क्वेटाका २७ प्रतिशत क्षेत्रमा फ्लोराइडको स्तर ३ दशमलव ४ मिलिग्राम रहेको पाइयो, जुन स्वास्थ्यका लागि सुरक्षित सीमा भन्दा धेरै उच्च हो।

दुर्रानीका अनुसार फ्लोराइडको उच्चतम स्तर रहेको क्षेत्रहरू क्वेटा उपत्यकाको केन्द्रीय भाग जस्तै सरियाब, डबल रोड, मियाँ घण्डी, र नोहिसार हुन्।

क्वेटाको २५ लाख जनसंख्या मध्ये अधिकांशले यस्तै दूषित पानी पिउन बाध्य छन्, जसले गर्दा उनीहरू फ्लोराइडजनित स्वास्थ्य समस्याको उच्च जोखिममा रहेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, ० दशमलव ५ देखि १ दशमलव ५२ मिलिग्राम प्रति लिटर फ्लोराइड स्तर भएको पानी उपयुक्त हुन्छ। यो सीमा पार गरेमा पानी विषाक्त बन्छ।

दुर्रानीले चेतावनी दिँदै भने, ‘उच्च फ्लोराइड स्तरका कारण बालबालिकामा रातो,खैरो दाँत देखिनु र ५० वर्ष माथिका मानिसहरूमा घुँडाको असह्य पीडा हुनु सामान्य भएको छ। यो पानीमा स्वादरहित बिष जस्तै हो।’

यस अध्ययनले फ्लोराइडको न्यूनतम स्तर निर्धारण गर्ने नीति निर्माण गर्न, साथै क्वेटामा पानी शुद्धीकरण र प्रशोधन प्लान्टहरू स्थापना गर्न सरकारलाई सुझाव दिएको छ।

दुर्रानीले पिउने पानीको फ्लोराइड स्तर अनिवार्य रूपमा जाँच गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, अत्यधिक फ्लोराइडयुक्त पानीले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने खतरा औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस