इस्लामाबाद— जनवरी २५, २०२४ मा पाकिस्तानको रावलपिन्डी अदालतले इस्लामका पवित्र व्यक्तित्व र कुरानको अपमान गरेको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। पाकिस्तानमा धर्मनिन्दासम्बन्धी कानुनहरू औपनिवेशिक कालदेखि अस्तित्वमा रहे पनि १९८० को दशकमा इस्लामीकरण नीतिअन्तर्गत ती कानुनहरू थप कठोर बनाइएका थिए। यी कानुनहरू इस्लामको रक्षा गर्न बनाइएका भए पनि पछिल्लो समय विशेष गरी धार्मिक अल्पसंख्यकहरू इसाई, अहमदी, र हिन्दूहरूका लागि दमनको औजार बनेको छ ।
धर्मनिन्दासम्बन्धी कानुन पाकिस्तानको दण्ड संहिता अन्तर्गत धारा २९५—ए, २९५—बी, र २९५—सी मा समेटिएको छ, जसअनुसार इस्लाम, पैगम्बर मोहम्मद वा इस्लामी ग्रन्थहरूमाथि अपमानजनक भनाइ राख्नेहरूलाई जन्मकैददेखि मृत्युदण्डसम्मको सजाय हुन सक्छ। पछिल्ला वर्षहरूमा, यी कानुनहरूलाई अझ कडा बनाइँदै आएको छ। सन् २०२३ मा, पाकिस्तानको संसदले पैगम्बरका परिवार वा सहचरहरूको अपमान गरे कम्तीमा १० वर्षसम्मको जेल सजाय हुने गरी कानुनमा संशोधन गरेको थियो। आलोचकहरूका अनुसार यो निर्णय राजनीतिक रूपमा उग्रवादी समूहहरूलाई सन्तुष्ट पार्ने उद्देश्यले ल्याइएको थियो।
सीमित प्रमाणका आधारमा वा अफवाहमात्रै फैलाएर आरोप लगाइने प्रवृत्तिले यी कानुनहरूको दुरुपयोगलाई झन् भयावह बनाइरहेको छ। २०२४ मा क्लोने फाउण्डेशन फर जस्टिसले २४ धर्मनिन्दा मुद्दाहरूको विश्लेषण गर्दा ९० प्रतिशत घटनामा विशेष रूपमा कुन शब्द धर्मनिन्दा मानिएको हो भन्ने विवरण नै नरहेको देखियो। धेरै उजुरीहरू प्रत्यक्ष साक्षीबिना दर्ता भएका थिए, जसले निर्दोष व्यक्तिहरूलाई झूट्टा आरोपमा जेल जान बाध्य बनाएको छ।
पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरू जनसंख्याको मात्र ४ प्रतिशत छन्, तर तिनीहरू धर्मनिन्दासम्बन्धी कानुनको मुख्य शिकार भइरहेका छन्। अमेरिकी धार्मिक स्वतन्त्रता आयोगका अनुसार १९८७ यता २,००० भन्दा बढी व्यक्तिमाथि धर्मनिन्दाको आरोप लगाइएको छ, जसमा करिब १०० जनाको अदालतसम्म मुद्दा पुग्नुअघि नै भीडद्वारा हत्या गरिएको छ। सन् २०२४ मा, एक इसाई व्यवसायीलाई कुरान जलाएको आरोपमा भीडद्वारा हत्या गरियो, भने एक क्रिश्चियन वृद्धालाई सामाजिक सञ्जालमा इस्लामविरोधी सामग्री सेयर गरेको आरोपमा मृत्युदण्ड सुनाइयो। अहमदी समुदाय, जसलाई पाकिस्तानमा गैर—मुस्लिम मानिन्छ, निरन्तर कानुनी दमनको शिकार भइरहेका छन्।
धर्मनिन्दा आरोपका कारण हुने हिंसा दिनानुदिन बढ्दै गएको छ। सन् २०२४ को जून महिनामा, पाकिस्तानको सरगोधा, पंजाबमा एक ७३ वर्षीय इसाई वृद्धलाई कुरान अपमान गरेको आरोपमा भीडले निर्मम कुटपिट गर्यो, जसका कारण उनको मृत्यु भयो। प्रहरीले घटनालाई रोक्न कुनै कदम चालेन, बरु भीडले क्रिश्चियन समुदायका घरहरू र चर्चहरू तोडफोड गर्न पायो। उही वर्ष स्वात उपत्यकामा एक मुस्लिम युवकलाई पनि कुरान अपमान गरेको आरोपमा भीडले हत्या गर्यो । यी घटनाले केवल हल्ला मात्र फैलिँदा पनि ज्यान जान सक्ने देखाउँछ।
धर्मनिन्दासम्बन्धी कानुनको दुरुपयोग पाकिस्तानमा व्यक्तिको स्वतन्त्रता र मानव अधिकारमाथिको हमलाका रूपमा विकसित भइरहेको छ। २०२४ मा प्रधानमन्त्री शहबाज शरीफको सरकार गठन भएपछि अभिव्यक्ति स्वतन्त्रता झन् खुम्चिएको छ। सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तै एक्स (पहिले ट्वीटर)को बेला बेलामा बन्द गरिएका छन्, भने पत्रकारहरूलाई दबाबमा पारिएको छ। यसैबीच, यी कानुनहरू व्यक्तिगत रिसइवी वा सम्पत्ति कब्जा गर्न पनि प्रयोग हुने गरेका छन्। २०२१ मा, एक इसाई नर्सलाई अस्पताल सफा गर्दा गल्तीले कुरानको स्टिकर हटाएको आरोपमा पक्राउ गरियो, तर कुनै प्रमाण नभए पनि मुद्दा अझै टुंगिएको छैन।
मानव अधिकार संगठनहरू, जस्तै एम्नेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचले पाकिस्तानलाई बारम्बार यी कानुनहरू संशोधन गर्न आग्रह गर्दै आएका छन्। संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिले पनि यस कानुनको दुरुपयोग रोक्न सुधार आवश्यक रहेको बताएको छ। तर पाकिस्तानमा राजनीतिक इच्छाशक्ति न्यून भएकाले सुधारको सम्भावना टाढा देखिन्छ।
धर्मनिन्दा कानुनको कारण पाकिस्तानमा धार्मिक अल्पसंख्यक समुदायहरू चरम अन्यायको शिकार भइरहेका छन्। यद्यपि कानुन पूर्ण रूपमा हटाउनु अहिलेको राजनीतिक अवस्थालाई हेर्दा कठिन देखिन्छ, तर कम्तीमा आरोप लगाउँदा बलियो प्रमाण आवश्यक पार्ने, झूट्टा आरोप लगाउनेलाई सजाय दिने, र न्यायाधीशहरूलाई स्वतन्त्र रूपमा निर्णय गर्न सुरक्षित गर्ने जस्ता सुधारहरू गरिएमा केही हदसम्म न्याय सुनिश्चित हुन सक्छ।