तिब्बती र उइघुरहरूमाथि साइबर आक्रमण: चिनियाँ कम्पनीको संलग्नता रहेको दाबी

 

बृइजिङ —इण्टिलिजेन्स अनलाइनका अनुसार चीनको सार्वजनिक सुरक्षा मन्त्रालयसँग सम्बद्ध चेङ्दुस्थित साइबर सुरक्षा कम्पनी सिचुआन डियान्के नेटवर्क सेक्युरिटी टेक्नोलोजी, जसलाई यूपीसेक भनेर चिनिन्छ, र यसको सहायक कम्पनी चेङ्दु आनमो टेक्नोलोजी तिब्बती तथा उइघुरहरूमाथि साइबर आक्रमण गर्ने कार्यमा संलग्न रहेको पाइएको छ । यी कम्पनीहरूले डार्क निम्बस नामक ब्याकडोर मालवेयरको प्रयोग गरी वीच्याट लगायतका चिनियाँ इन्स्ट्यान्ट मेसेजिङ एपहरूमा ह्याकिङ गरी प्रयोगकर्ताका व्यक्तिगत जानकारी चोरी गर्ने कार्य गरिरहेको बताइएको छ ।

यूपीसेकले चीनको साइबर सुरक्षामा योगदान पुर्‍याउने दाबी गरे पनि वास्तवमा यो संस्था अत्यन्त उन्नत साइबर आक्रमण उपकरणहरू विकास गर्दै आएको छ।

अनुसन्धानकर्ताहरूले यूपीसेकसँग सम्बन्धित आइपी ठेगानाहरू फेला पार्न सफल भएका छन्, जसले यो कम्पनीले सरकारी निकायहरूसँग मिलेर आक्रमण सञ्चालन गरिरहेको देखाउँछ।

डार्क निम्बस नामक मालवेयर संक्रमित उपकरणहरूबाट फोन कल रेकर्ड, एसएमएस, सम्पर्क सूची, ब्राउजर बुकमार्क, विभिन्न एपहरूमा भएका कुराकानी तथा लोकेशन डेटा सङ्कलन गर्न सक्षम छ। यो मालवेयर वीच्याट मार्फत फैलाइने गरिएको छ, जसलाई चीनका उइघुर तथा तिब्बती समुदायले व्यापक रूपमा प्रयोग गर्छन्।

अनुसन्धान अनुसार चीनभित्र मात्र नभई उत्तर अमेरिका र युरोपमा समेत डार्क निम्बसको असर देखिएको छ, विशेष गरी तिब्बती तथा उइघुर समुदायलाई लक्षित गरी फिसिङ आक्रमणमार्फत ह्याकिङ गरिएको छ।

यूपीसेकले चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र अनुसन्धान संस्थाहरूसँग साझेदारी गरेको दाबी गरेको छ। यस कम्पनीले इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी विश्वविद्यालयको अनुसन्धान केन्द्रसँग मिलेर विभिन्न सुरक्षा प्रविधि प्रयोगशालाहरू स्थापना गरेको छ।

यो कम्पनी अमेरिका सरकारले हालै प्रतिबन्ध लगाएको सिचुआन साइलेन्स इन्फर्मेशन टेक्नोलोजीको कार्यालयनजिकै रहेको देखिएको छ। चेङ्दु शहर चिनियाँ साइबर गुप्तचर गतिविधिको केन्द्र बन्दै गएको छ, जहाँ एपीटी ४१ जस्ता कुख्यात ह्याकर समूहहरू सक्रिय छन्।

यस घटनाले चीन सरकारले साइबर आक्रमण मार्फत तिब्बती तथा उइघुर समुदायलाई लक्षित गरिरहेको देखाउँछ, जसमा निजी सुरक्षा कम्पनीहरूको प्रत्यक्ष संलग्नता रहेको पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस