हङकङ— हङकङमा जन्मदर ऐतिहासिक रूपमा घट्दा बालबालिका पढ्ने विद्यालय (किन्डरगार्टेन) बन्द हुने दर तीव्र रुपमा बढ्दै गएको छ। सन् २०२२ मा केवल ३२,५०० बालबालिका जन्मिए, जुन हङकङको इतिहासमै सबैभन्दा न्यून संख्या हो। यसको प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रमा देखिएको छ, जहाँ करिब ४० विद्यालयहरू यो शैक्षिक सत्रको अन्त्यसम्म बन्द हुन सक्ने सम्भावना छ। सन् २०२३ मा जन्मदर अलिक सुधार भएर ३३,२०० पुग्यो भने सन् २०२४ को पहिलो ११ महिनामा ३३,५०० जन्म दर थियो, तर यो पनि अघिल्लो सामाजिक अशान्ति र महामारीअघिको संख्याभन्दा ४० प्रतिशत कम हो।
विद्यालयहरूले विद्यार्थी अभावको समस्या झेल्दै गर्दा केही बालबालिका पढ्ने विद्यालयहरूले आगामी शैक्षिक वर्षका लागि केवल ४ देखि ५ विद्यार्थी भर्ना आवेदन मात्र प्राप्त गरेका छन्। कतिपय विद्यालयहरूले आफ्नो बचत खर्च गरेर सञ्चालन गर्न बाध्य भएका छन् र अन्ततः बन्द हुने अवस्थामा पुग्नसक्छन्। शिक्षा मन्त्री क्रिस्टिन छोइ युक—लिनले विद्यालयहरूलाई पुराना क्षेत्रहरूबाट विद्यार्थी अधिक भएका नयाँ क्षेत्रमा स्थानान्तरण गराउने योजना अघि सारेकी छन्। यसका लागि सरकारले अनुदान दोब्बर गरी ३ मिलियन हङकङ डलर (३, ८५,००० अमेरिकी डलर) पुर्याएको छ। तर, उनले नै स्वीकार गरेअनुसार, विद्यार्थी संख्या नै कम भएका क्षेत्रमा अनुदान बढाएर मात्रै समाधान सम्भव छैन, त्यसैले विद्यालयहरूलाई विद्यार्थी चाहिने स्थानमा सार्नुपर्ने आवश्यकता छ।
हङकङमा सबै किन्डरगार्टेनहरू निजी रूपमा सञ्चालित छन्, जसले गर्दा प्रत्येक वर्ष नाफा–नोक्सान र भाडा सम्झौताका कारण विद्यालयहरू बन्द वा नयाँ रूपमा दर्ता हुने क्रम जारी रहन्छ। न्यान्सी लाम छुइ—लिङ, जो हङकङ फेडेरेसन अफ एजुकेसन वर्कर्सकी उपाध्यक्षसमेत हुन्, भन्छिन्, छहाम्रो शिक्षा क्षेत्र अहिले ‘बिग चिल’ अर्थात् ठूलो संकटको चरणमा छ।’ विगतको तुलनामा बालबालिका विद्यालयहरूको स्थिति गम्भीर बन्दै गएको छ, जसले गर्दा नयाँ शिक्षकहरूलाई पनि यो क्षेत्रमा आकर्षित गर्न कठिनाइ उत्पन्न भएको छ।
अर्कोतर्फ, केही प्रतिष्ठित स्वतन्त्र वा अन्तर्राष्ट्रिय विद्यालयहरूमा विद्यार्थीको अत्यधिक माग देखिन्छ, किनकि तिनीहरूले सरकारी पाठ्यक्रमको सिमा तोडेर आफ्नो स्तर उन्नत बनाउने छुट पाएका छन्। यस्तो विद्यालयमा भर्ना गराउन चाहने अभिभावकहरूको संख्या उच्च रहेको छ, जसका कारण उनीहरूसँग लामो प्रतीक्षा सूची समेत रहेको पाइन्छ। यद्यपि, सरकारी अनुदान प्राप्त विद्यालयहरू भने निश्चित पाठ्यक्रम अनुसरण गर्न बाध्य छन्, जसले गर्दा उनीहरू प्रतिस्पर्धामा कमजोर देखिएका छन्।
बढ्दो संकटसँगै केही विद्यालयहरूले अभिभावकहरूलाई अग्रिम रूपमा भर्ना शुल्क तिराउने तथा भर्ना प्रमाणपत्रहरू बुझाउन लगाउनेजस्ता उपायहरू अपनाइरहेका छन्, जसले विद्यार्थी सुनिश्चित गर्न सघाउने तर अन्य विद्यालयहरूसँगको प्रतिस्पर्धालाई कडा बनाउने देखिएको छ। यस वर्षका लागि अनुदान प्राप्त किन्डरगार्टेनहरूको वार्षिक अनुदान विद्यार्थी संख्याका आधारमा निर्धारण गरिनेछ, जसअनुसार आधा दिनका विद्यार्थीका लागि ३९,२०० हङकङ डलर, पूरै दिनका लागि ५०,९६० हङकङ डलर र लामो समयको लागि ६२,७२० हङकङ डलर प्रदान गरिनेछ। तर विद्यार्थी संख्या नै कम हुँदै गएको कारण दिउँसोका कक्षाहरूमा भर्ना दर निकै कम देखिएको छ।
शिक्षा क्षेत्रमा गहिरिँदो यो संकटका कारण धेरै शिक्षकहरूले जागिर गुमाउने खतरा बढेको छ। साथै, हङकङ आएका चिनियाँ कामदारहरूका सन्तानहरूले विद्यालयहरूको विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि गर्ने सम्भावना न्यून रहेको छ, किनकि अधिकांश विदेशी कामदारहरू आफ्ना सन्तानहरू सानो उमेरमा हङकङ ल्याउन इच्छुक हुँदैनन्। यसै कारण माध्यमिक विद्यालयहरूलाई फाइदा भए पनि किन्डरगार्टेन तहमा भने उल्लेखनीय वृद्धि हुने देखिँदैन। सरकारी अनुदान प्राप्त विद्यालयहरूले पाठ्यक्रमलाई अझ लचिलो बनाउनुपर्ने माग राखिरहेका छन्, ताकि उनीहरू स्वतन्त्र विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सकून्। अहिले सरकारसँग मुख्य चुनौती भनेकै शिक्षा क्षेत्रलाई दीर्घकालीन रूपमा सन्तुलित बनाउने रणनीति तय गर्नु हो।