ताइपेइ— ताइवानको राष्ट्रिय आप्रवासन एजेन्सी र राष्ट्रिय सुरक्षा अधिकारीहरूले कम्तीमा पाँच कम्पनीहरूलाई चिनियाँ परिचयपत्र प्राप्त गर्न ताइवानका नागरिकलाई सहायता गरिरहेको आरोपमा छानबिन गरिरहेका छन्। ताइपेइ टाइम्स का अनुसार, युट्युबर पा चिउङले केही ताइवानी कम्पनीहरूले चिनियाँ कागजातहरू प्राप्त गर्न सहयोग गरिरहेको खुलासा गरेपछि यो मुद्दा सतहमा आएको हो।
गत हप्ता, गृह मन्त्री लिउ शिह(फाङ ले उत्तर र दक्षिण ताइवानमा रहेका तीनदेखि पाँच सार्वजनिक सम्बन्ध (पब्लिक रिलेसन) फर्महरू अनुसन्धानको दायरामा रहेको पुष्टि गरेका थिए। यी कम्पनीहरू ताइवान र मुख्यभूमि चीनबीचको सम्बन्ध सम्बन्धी ऐन उल्लङ्घन गरेको आशंकामा अनुसन्धान भइरहेको छ।
सूत्रहरूले जनाएअनुसार, ती कम्पनीहरूमध्ये दुई ताइवानमै सञ्चालनमा छन्। तिनमध्ये एक टाइनानस्थित ट्राभल एजेन्सी हो, जसले चीनको सियामेनमा बैंक खाता खोल्ने सुविधासहित तीन—दिने यात्रा प्याकेज प्रदान गर्छ। अर्को न्यु ताइपेइ सहरको बान्चिआओ जिल्लामा रहेको कम्पनी हो, जसले मुख्यतः रियल इस्टेट, गाडी बिक्री, र अनलाइन विज्ञापन को काम गर्छ। साथै, यस कम्पनीले दुई रात तीन—दिनको यात्रा प्याकेज अन्तर्गत ताइवानी नागरिकलाई चिनियाँ परिचयपत्र प्राप्त गर्न सहयोग गर्ने गरेको पाइएको छ।
त्यस्तै, चीनको फुजियान प्रान्तमा रहेका तीन कम्पनीहरू समेत अनुसन्धानको घेरामा छन्। तिनमध्ये एउटा कम्पनी फुजियान फा—चाइ इन्फरमेसन टेक्नोलोजी लिमिटेड हो, जसले अत्यन्त न्यून ब्याजदरमा लाखौँ युआन ऋणको प्रलोभन देखाएर ताइवानीहरूलाई चिनियाँ परिचयपत्रको आवेदन दिन प्रोत्साहित गर्ने गरेको बताइन्छ। अर्को कम्पनी, सियामेनस्थित सार्वजनिक सम्बन्ध फर्म हो, जसले सामाजिक सञ्जालमार्फत चिनियाँ आईडी कार्ड प्राप्त गर्ने सेवाको विज्ञापन गर्ने गरेको छ। तेस्रो कम्पनी ताइवानका नागरिकहरूद्वारा झाङझाउ ताइवानिज इन्भेस्टमेन्ट जोनमा स्थापना गरिएको हो, जसले मुख्यतः युवाहरूलाई चिनियाँ आईडी कार्ड लिन आकर्षित गर्ने उद्देश्य राखेको छ। यस कम्पनीसँग जोडिएका दुई व्यक्तिहरू, लिन चिन—चेंग र सु शिह—एन अनुसन्धानको घेरामा छन्।
गत महिना, गृह मन्त्रालयले सु शिह—एनको ताइवान नागरिकता खारेज गरेको थियो । उनले युट्युबर पा चिउङको भिडियोमा आफ्नो चिनियाँ आईडी कार्ड प्रदर्शन गरेका थिए। एक सरकारी अधिकारीले अरूलाई चिनियाँ परिचयपत्र आवेदन गर्न सहयोग गर्नु गैरकानुनी कार्य हो’ भनेर स्पष्ट रूपमा बताएका छन्।
अधिकारीकाअनुसार, स्थानीय ट्राभल एजेन्सीहरूले ताइवानका नागरिकका लागि यात्रा अनुमति आवेदन गर्न सहयोग गर्न सक्ने भए पनि चिनियाँ स्थायी बसोबास वा चिनियाँ आईडी कार्ड आवेदनमा सहायता गर्न पाइँदैन। सरकारी स्वीकृति विना यस्तो कार्य सञ्चालन गर्ने वा चिनियाँ अधिकारीहरूसँग सहकार्य गर्ने व्यक्तिहरूलाई १ लाख देखि ५ लाख नयाँ ताइवानी डलरसम्म जरिवाना हुनसक्ने बताइएको छ।