चीन अष्ट्रेलियासँग पुनः व्यापारिक सम्झौता गर्न बाध्य

 

बेइजिङ— कोरोनाभाइरसको उत्पत्तिमा स्वतन्त्र अनुसन्धानको माग गरेको कारण २०२० मा अष्ट्रेलियासँगको द्विपक्षीय व्यापार स्थगित गरेको चीनले फेरि सम्बन्ध सुधार्न बाध्य भएको छ। ऊर्जा सुरक्षा, अत्यावश्यक खनिज पदार्थको आपूर्ति, व्यापार विस्तार र भू—राजनीतिक दबाबका कारण चीनले पछाडि हटेर अष्ट्रेलियासँग व्यापार पुनः सुरु गरेको हो।

चीनले कोइला, तामा, चिनी, कपास, रक्सी, जौ लगायत अष्ट्रेलियाली निर्यातमा प्रतिबन्ध लगाएको थियो। तर, यी कदमले चीनलाई नै असर गर्न थालेपछि बेइजिङले व्यापार पुनः सुरु गर्ने संकेत दिएको छ।

चीनले अष्ट्रेलियाली उत्पादनहरूमाथिको प्रतिबन्ध उल्टाउँदै व्यापार वार्ताका लागि उच्चस्तरीय संयन्त्रहरू पुनः गठन गरेको छ। ‘राजनीतिभन्दा अर्थतन्त्रलाई प्राथमिकता दिनु बुद्धिमानी हुनेछ’, चीन केन्द्रका प्रमुख अनुसन्धानकर्ता झाङ यानशेङले भने।

सात वर्षपछि चीनका प्रधानमन्त्री ली छियाङ २०२४ मा अष्ट्रेलिया भ्रमणमा गए, जसको मुख्य उद्देश्य व्यापार सम्बन्ध सुधार्नु थियो। अष्ट्रेलियन नेशनल युनिभर्सिटीका अनुसन्धानकर्ता बेन्जामिन हर्स्कोविचका अनुसार यो भ्रमणले दुई देशबीचको सम्बन्ध स्थिर बिन्दुमा पुगेको संकेत दिएको छ।

चीनको व्यापार प्रतिबन्ध रणनीति असफल रह्यो। अष्ट्रेलियाका धेरै निर्यातकर्ताले नयाँ बजार फेला पारे, जसले चीनलाई नै असर गर्यो। चीनलाई फलाम खानी, प्राकृतिक ग्यास र ऊन जस्ता अष्ट्रेलियाली सामग्रीको आवश्यकताले उसैलाई दबाबमा पार्यो।

विशेष गरी उच्च गुणस्तरको अष्ट्रेलियाली कोइलाको अभावले चीनको ऊर्जा सुरक्षामा खतरा उत्पन्न गर्यो। यसै कारण २०२४ मा चीनले अष्ट्रेलियाबाट कोइला आयात २७० प्रतिशत वृद्धि गर्यो।

अर्कोतर्फ, अष्ट्रेलियाले भारत, इन्डोनेशिया र जापान जस्ता वैकल्पिक बजार सजिलै फेला पार्यो। ‘यो प्रतिबन्धले अष्ट्रेलियालाई होइन, चीनलाई नै बढी असर गर्यो’, चर्चित विजनेस सम्पादक इयान भेरेन्डरले टिप्पणी गरे।

अन्ततः, चीनले कठोर व्यापार नीति पुनर्विचार गर्यो। चीनका लागि अष्ट्रेलिया अन्तर्राष्ट्रिय बजारमा प्रवेशद्वारको रूपमा रहन सक्छ, र अमेरिकासँगको बढ्दो प्रतिस्पर्धामा रणनीतिक खनिजहरूको महत्त्व झन् बढेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ टाकासी तेरेडाका अनुसार चीनले दक्षिण चीन सागर विवादमा अष्ट्रेलियालाई पश्चिमी गुटबाट अलग राख्न पनि मित्रता पुनः स्थापित गर्न खोजेको हुनसक्छ।

यस परिवर्तनले चीनको व्यवहारमा व्यावहारिक सोचको पुनरागमन झल्काउँछ। ‘नयाँ शक्ति प्राप्त गरेका देशहरूले अक्सर आफ्नो क्षमताको आकँलन बढी गर्छन्, तर अन्ततः यथार्थवादी कूटनीतिमा फर्किन्छन्’, क्वीन्सल्याण्ड विश्वविद्यालयका प्राध्यापक जोन क्विगिनले भने।

प्रतिक्रिया दिनुहोस